ओलीले पार्टी र आन्दोलनलाई सिध्याउन खोजेः नेपाल

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले संसद् विघटनविरूद्व परिवर्तनकर्मी शक्तिहरू एक ठाउँमा हुनुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा संसद् विघटनविरुद्ध आयोजित नागरिक भेलामा बोल्दै अध्यक्ष नेपालले देशलाई लोकतन्त्र र स्थायित्वको बाटोमा लैजान सबै परिवर्तनकर्मी शक्तिहरूबीच तालमेल गर्दै अघि बढ्नुपर्ने वेला आएको पनि बताए ।

उनले संसद् विघटनको विरोधमा समाजका सबै तह र तप्का एकै ठाउँमा आएकोमा धन्यवाद दिँदै आन्दोलनलाई अझै प्रभावकारी बनाउनुपर्ने बताए ।

याे पनि पढ्नुस  सरकारमा प्रचण्ड–नेपाल समूहलार्ई सहयोग गर्न सकिन्छः पौडेल

प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेर कम्युनिस्ट पार्टी र आन्दोलनलाई सिध्याउन खोजेको आरोप नेपालले लगाए । प्रधानमन्त्री ओलीको गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षताप्रति कुनै अपनत्व नभएको उनको भनाइ छ ।

अध्यक्ष नेपालले सोमबार नै निर्वाचन आयोग पुगेर पार्टीको आधिकारिकता आफूहरुलाई दिन आग्रह गरेको पनि जानकारी दिए । उनले बहुमत केन्द्रीय कमिटी सदस्य आफूतिर भएको र बहुमतले मात्रै पार्टीको विधान संशोधन गर्न सक्ने व्यवस्था भएकोले कुनै एक व्यक्तिको सुर र तालमा पार्टी नचली विधानसम्मत चल्ने जानकारी दिएको बताए ।

याे पनि पढ्नुस  संसद् विघटनविरूद्व देशव्यापी प्रदर्शन गर्दै कांग्रेस

निर्वाचन आयोगलाई नेकपाको विधान र निर्वाचनसम्बन्धी कानुन हेरेर निर्णय गर्न आग्रह गरिएको उनले बताए । प्रधानमन्त्री ओलीले सबै शक्ति आफू मातहतमा ल्याएर विरोधीलाई तर्साएको जिकिर उनले गरे ।

प्रतिनिधिसभा विघटनको विरोधमा समाजका सबै तह र तप्का एकैठाउँमा आएको भन्दै उनले परिवर्तनकर्मी शक्तिहरुबीच तालमेल गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

याे पनि पढ्नुस  आज नेकपा सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

कमेन्ट गर्नुहोस्