काठमाडौंः संसद् विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासमा बहस शुरू भएको छ ।
न्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको इजलासमा सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् । न्यायाधीश मल्ल नयाँ थपिएकी हुन् । गत बुधबारको सुनुवाइमा कानुन व्यवसायीहरूले प्रश्न उठाएपछि इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीले बाध्य भएर प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइमा नबस्ने घोषणा गरेका थिए ।
सम्बन्धित समाचारः संवैधानिक इजलासमा कार्कीको स्थानमा सपना प्रधान मल्ल
सम्बन्धित समाचारः संसद् विघटनबारे सुनुवाइ भइरहेको बेञ्चमा नबस्ने न्यायाधीश कार्कीको घोषणा
अहिले यो मुद्दा किन बृहत पूर्ण इजलासमा भन्ने बहस शुरू भएको छ । १३ जना रिट निवेदकले नै यो मुद्दा बृहत पूर्ण इजलासमा लैजान माग गर्दै लिखित निवेदन नै दिएका छन् ।
आज बुधबार ५ जनाले बहस गर्नेछन् । बहसका लागि एक घण्टाको समय छुट्याइएको छ ।
सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले बृहत पूर्ण इजलासमा असहमति जनाएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइ संवैधानिक इजलासमा हुन लागेका बेला रिट निवेदकमध्येका नेकपा नेता देव गुरुङ पनि सर्वोच्च अदालत पुगेका छन् । विघटित प्रतिनिधिसभामा नेकपा संसदीय दलको प्रमुख सचेतक रहेका गुरुङसहितका नेकपा सांसदले पनि रिट दायर गरेका थिए । यसअघि रिट निवेदक वकिलहरुमात्र सहभागी भएकोमा आजको सुनुवाईमा गुरुङ पनि पुगेका हुन् । गुरुङ पूर्व कानुनमन्त्री पनि हुन् ।
ओलीको पक्षमा २० बढी वकिलले बहस गर्ने
प्रधानमन्त्री तथा मन्त्रीपरिषदका पक्षमा दुई दर्जन बढी वकिलहरुले बहस गर्ने भएका छन् । महान्याधिवक्ता कार्यालयका अनुसार महान्यायाधिवक्ता अग्नि खरेलले नेतृत्व गर्ने सरकारी वकिलको समूहमा चार नायब न्यायाधिवक्ता र अरू सहन्यायाधीवक्ता छन् । यही टिमले प्रधानमन्त्री, मन्त्रिपरिषदको कार्यालय, राष्ट्रपति कार्यालय र संसद सचिवालयसमेतको पक्षबाट बहस गर्नेछ ।
प्रधानमन्त्री ओलीले सरकारी वकिलका बाबजुद निजी वकिल पनि राखेका छन । निजी वकिलहरूको नेतृत्वकर्ता वरिष्ठ अधिवक्ता सुशील पन्त रहेका छन । वरिष्ठ अधिवक्ताहरू बालकृष्ण न्यौपाने, रवि खनाल, सुरेन्द्र भण्डारी, महेश नेपाल, विष्णु भट्टराई, माधव बाँस्कोटा, माधव बस्नेत, विश्वमणि पोखरेल, रमेश गुरागाईं, रमेश बडाल, ईश्वरी भट्टराई र रूद्र पोखरेलले पनि सरकारको तर्फबाट बहस गर्नेछन ।
१३ वटा रिटका वकिलहरू छुट्टाछुट्टै हुन्छन् । अहिलेसम्म यकिन संख्या थाहा नभएपनि वरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद भण्डारी, हरिहर दाहाल, शम्भु थापा, रमण श्रेष्ठ, भीमार्जुन आचार्य, गोविन्द शर्मा बन्दी, रूद्र नेपाल लगायत वकिलले रिटको पक्षमा बहस गर्नेछन् ।
सम्बन्धित समाचारः प्रतिनिधि सभा विघटनविरुद्ध आज सुनुवाई हुँदै, पूर्ण इजलासको माग गरिने, ओलीको पक्षमा २० बढी वकिलले बहस गर्ने