काठमाडौंः अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समाचार संस्था जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले माफी माग्नुपर्ने बताएका छ ।
प्रधानमन्त्री ओलीले वालुवटारमा वोलाएर अन्तर्वार्ता दिएकै भोलिपल्ट भारतीय समाचार संस्था जी न्युजका प्रधान सम्पादक चौधरीले सगरमाथामा भारतले दाबी गर्नुपर्ने समाचार सामाग्री प्रशारण गरेका थिए ।
अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले बुधबार विज्ञप्ति निकाल्दै भनेका छन्, ‘नेपाली अस्मिता र स्वाभिमानमाथि धावा बोल्दै सगरमाथामाथि अत्यन्तै आधारहीन, रहस्यमय र कपोकल्पित ढंगले पेश गरिएको दावीलाई अनेरास्ववियू खारेज गर्दछ ।’
नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वाभिमानका विरुद्ध लगातार रुपमा विषवमन गर्दै आएको जी न्युजले आफ्ना कर्तुत उपर कुनै प्रायश्चित नगर्दै प्रधानमन्त्री स्तरवाटै वालुवटारको पटाङ्गिनीमा त्यसका प्रधान सम्पादकलाई नै रातो कार्पेट विछ्याएर स्वागत गरिएको परिघटनाले थप आशंकित र आक्रोशित तुल्याएको विज्ञप्तिमा उल्लेख छ । सगरमाथा सदैव नेपाल र नेपाली जनताको शीर ,शान र पहिचान रहेको रहिरहनेछ बताउँदै देशको पहिचान माथिको गिद्धेदृष्टि आफूहरूलाई अस्वीकार्य रहको विज्ञप्तिमा जनाइएको छ ।
चौधरी र उनको संचारसंस्थालाई यस खालको भ्रामक र तथ्यहिन समाचार सम्प्रेषण नगर्न र अविलम्ब माफी माग्न आग्रह गर्न अनेरास्ववियूले आग्रह गरेको छ । यसका साथै प्रधानमन्त्री ओलीलाई चौधरीसंगको भेटवारे तत्काल जनतालाई स्पष्ट पार्न, आइन्दा त्यस्ता कुटनीतिक मर्यादा विबपरितका भेटघाट नगर्न र यसअघि गरेको कुटनीतिक मर्यादा विपरितका भेटघाटबारे जनता समक्ष अविलम्ब माफी माग्न अनेरास्ववियूले माग गरको छ ।
‘यस संगसंगै संविधान लत्याएर प्रतिगमनको वाटोमा हिडेका प्रधानमन्त्री ओलीलाई सत्ता टिकाउने नाममा राष्ट्रिय स्वाधीनता र स्वाभिमानमा गम्भीर आंच पुर्याउने व्यक्ति र संस्थाहरुसंग रहस्यमय र अपारदर्शी भेटघाट र सांठगांठ नगर्न चेतावनी दिन चाहन्छौं’, अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।