भारतमा आजबाट सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

काठमाडौं । भारतमा आजबाट  सर्वसाधारणालाई कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिने भएको छ ।

खोप अभियानको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने छन् ।

अभियानको पहिलो दिन आज हरेक खोप केन्द्रमा एक सयका दरले तीन लाख स्वास्थ्यकर्मीलाई खोप लगाउने कार्यक्रम रहेको छ ।

पहिलो प्राथमिकतामा राखेर भारत सरकारले जुलाईसम्ममा करिब ३० करोड मानिसलाई खोप दिने तयारी गरेको छ । ५० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्ति तथा स्वास्थ्य जोखिममा रहेका ३० करोड व्यक्तिलाई खोप दिने तयारी भइरहेको हो ।

खोपका लागि ७०० जिल्लामा करिब एक लाख ५० हजार कर्मचारी परिचालन गरिएको छ ।

भारतले प्रयोगमा ल्याउन लागेका खोपहरुमा अस्ट्राजेनिकाले स्थानीय साझेदारी सेरम इन्स्टिच्यूटसँग मिलेर तयार पारेको कोभिसिल्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन रहेका छन् ।

सेरम इन्स्टिच्यूटले भारतमा आफूले उत्पादन गरेको खोप व्यक्ति र संस्थालाई पनि बेच्ने गरी अनुमति पाएको छ । सेरमको खोप भारतमा भारु १००० तोकिएको छ ।

कोरोनाभाइरसको संक्रमणबाट भारतमा अहिलेसम्म १ लाख ५२ हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । कोरोनाभाइरसका कारण भारत विश्वमै आर्थिक रुपमा सबैभन्दा बढी प्रभावित भएको छ भने लाखौं मानिसले रोजगारी गुमाएका छन् ।

कमेन्ट गर्नुहोस्