काठमाडौँ। प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज विभागीय टिम एपीएफ र प्रदेश-१ भिड्ने भएका छन् ।
वसन्त रेग्मीको कप्तानीमा मैदान उत्रने एपीएफ सुखद सुरुवात गर्ने लक्ष्य छ भने एपीएफमा राष्ट्रिय टिमका खेलाडीको पनि बाहुल्यता त्यतिकै रहेको छ ।
प्रदेश-१ पनि सुखद सुरुवात गर्ने दाउमा छ । सिद्दान्त लोहनीको कप्तानीमा रहेको प्रदेश- १ लाई पनि निकै बलियो टिमको रुपमा हेरिएको छ ।
समूह ‘ए’ मा रहेका दुई टिमबीचको खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा साढे ९ बजे सुरु हुनेछ ।
राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघ (क्यान)को व्यवस्थापनमा हिजोबाट प्रतियोगिता सुरु भएको हो ।
हिजो भएको पहिलो खेलमा नेपाली सेनाको विभागीय क्लब त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई ९८ रनले हराएको छ ।