काठमाडौं । भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि नेपाली तेल उद्योग धरासयी हुँदै गएका छन् । यसरी भारतले पाम आयलमा प्रतिबन्ध लगाउँदा पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धरासायी हुँदै गएका हुन् ।
पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि व्यवसायीहरुको ठूलो लगानी पनि जोखिममा परेको छ । नेपालबाट निकास हुने प्रमुख वस्तुमध्ये एक पाम तेल नै हो ।
पाम आयलको आयातमा भारतले एकपक्षीयरूपमा प्रतिबन्ध लगाउँदा यसले पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग बन्द हुने अवस्थामा पुगेको नेपाल चामल, दाल, तेल उद्योग सङ्घका अध्यक्ष सुवोधकुमार गुप्ताले बताए ।
आर्थिक वर्ष २०७६र७७ मा निकासीको सूचीमा रहेको प्रशोधित पाम आयल चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म निकासीको सूचीबाट हटेको छ ।
पाम आयल उत्पादन गरी भारतमा निकासी हुने मुख्य २० वस्तुको सूचीबाट पाम आयल हटेका कारण यस क्षेत्रका उद्योग आर्थिक मारमा पर्दै गएको छ ।
इण्डोनेसिया, क्यानाडालगायत तेस्रो मुलुकबाट भारतको बाटो हुँदै आयात भइरहेको पाम आयल नेपालमा प्रशोधन गरी पुनः भारतीय बजारमा पठाइने गरिएको थियो । पाम आयलको माग भारतमा उच्च छ ।
भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि गत वैशाखदेखि यसको निकासी हुन नसकेको वीरगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत रमेश सुकमनीले बताए ।
भारतमा पाम आयल निर्यात गर्न नपाएर अहिले उद्योगी सोयाबिनको प्रशोधित तेल निकासी गरिरहेका छन् । अहिले उद्योगीहरुले बाध्य भएर सोयाबिन तेल निकासीमा जोड दिएरहेका छन् ।
चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा रु नौ अर्ब १० करोड मूल्य बराबरको ६३ हजार १०१ मेट्रिक टन भटमासको प्रशोधित तेल भारततर्फ निर्यात भएको छ ।
नेपाली उत्पादन भारतमा जाँदा भारतीय उद्योग प्रभावित हुन थालेपछि भारत सरकारले यस्तो कदम चालेको उद्योगी बताउँछन् ।नेपालबाट प्रशोधन भएर भारत जाने पाम आयलले ८० प्रतिशत भारतीय बजार ओगटेको बताइन्छ ।