उखु किसानले पाए साढे ४७ करोड भुक्तानी, अझै १८ करोड बाँकी

काठमाडौं : सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले साढे ४७ करोड भुक्तानी पाएका छन् । उखुको बक्यौता रकम भुक्तानीका विषयमा उखु किसान र सरकारबीच सहमति भएको आज २१ दिन पूरा भएको छ ।

उखुको बक्यौता रकम माग्दै गत मंसिर २८ देखि काठमाडौंको माइतीघरमा आन्दोलनरत उखु किसान र सरकारबीच गत पुस १३ गते चारबुँदे समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उनीहरूले आइतबार साँझसम्म तीन वटा चिनी उद्योगबाट रु साढे ४७ करोड भुक्तानी पाएका हुन् ।

सहमतिअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी उद्योगीले उखु किसानलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम सम्बन्धित उद्योगबाट २१ दिनभित्र उपलब्ध गराउने व्यवस्था मिलाउने भनिएको छ । ६५ करोडभन्दा बढी बक्यौता रकममध्ये आइतबार साँझसम्म तीन वटा चिनी उद्योगले साढे ४७ करोड बक्यौता रकम भुक्तानी गरेको गृह मन्त्रालयले जनाएको छ ।

याे पनि पढ्नुस  ‘मालिक नभेटिए सम्पत्ति जफत गरेर किसानको उखुको मूल्य दिन्छौं’

मन्त्रालयका अनुसार उखुको बक्यौता रकम माग्दै किसानले आन्दोलन नै गरेपछि मन्त्रालयले भुक्तानी नगर्ने मिललाई कारबाही गर्ने बताएको थियो । सम्बद्ध सञ्चालकलाई पक्राउ गर्न प्रहरीमार्फत पक्राउ पूर्जी पनि जारी गर्‍यो । त्यसपछि मात्र भुक्तानी उठेको हो ।

माघ ४ गते साँझसम्म करिब साढे ४७ करोड भुक्तानी भएको छ । श्रीराम सुगर मिल, अन्नपूर्ण सुगर मिल र लुम्बिनी सुगर मिलले रु ४७ करोड ४५ लाख बक्यौता रकम भुक्तानी गरेको मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार इन्दिरा सुगर मिलले किसानको बैंक खातामा न्यून रकम जम्मा गरेको देखिएको छ ।

याे पनि पढ्नुस  उखु किसानलाई १ महिनाभित्र भुक्तानी दिन अन्तरिम आदेश

उखु किसान र सरकारबीच सहमति हुनु अगाडि नै सो मिलले रु ३३ करोड बक्यौता रकम भुक्तानी गरेसकेका थिए । सम्झौता भएको २१ दिनको अवधिमा ती उद्योगले न्यून मात्रामा रकम भुक्तानी गर्ने गरेको उनको भनाइ छ ।

सूचना अधिकारी लामिछानेका अनुसार सबैभन्दा धेरै श्रीराम सुगर मिलले ३१ करोड ८१ लाख बक्यौता रकम भुक्तानी गरिसकेको छ । ३५ करोड बक्यौता रकम रहेको सो मिलले किसानले उखु खरीदको प्रमाण बुझाउन नसक्दा भुक्तानीमा ढिलाइ भएको र खातामा पर्याप्त रकम भएको जानकारी दिएको उनले बताए । यसैगरी अन्नपूर्ण सुगर मिलले ११ करोड ४७ लाख बक्यौता रकम भुक्तानी गरेको छ ।

याे पनि पढ्नुस  उखु किसानको रकम भुक्तानी नदिने चिनी मिल सञ्चालकलाई पक्राउ गरिने

उक्त मिलले उखु किसानलाई १७ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी छ । अन्नपूर्ण र इन्दिरा सुगर मिलका सञ्चालक एकैभए तापनि हालसम्म इन्दिराले रकम भुक्तानी गरेको छैन ।

इन्दिरा सुगर मिलको खातामा १ करोड ५० लाख रकम जम्मा भएको देखिए पनि बक्यौता रहेको ४ करोड ७० लाख भुक्तानी नगरेको उनले जानकारी दिए । दुवै मिलले अझै ११ करोड बढी बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ ।

कमेन्ट गर्नुहोस्