फाइल फोटो ।
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघटन राजतन्त्र पुनःस्थापना गर्ने प्रक्रियाको सुरुवात भएको र त्यसलाई हर मूल्यमा रोक्नुपर्ने बताएका छन् ।
प्रचण्ड–माधव समूह सम्वद्ध प्रेस संगठनको भेलालाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।
संसद् विघटन राजतन्त्र पुनःस्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको सुरुवात भएको भन्दै प्रचण्डले भने, ‘यसलाई हर मूल्यमा रोक्नुपर्छ ।’
प्रचण्डले आफूहरु युद्धमा नभएको बताए । आफूहरुले कानुनी राजको मान्यतामा हस्ताक्षर गरिसकेकाले हिसांत्मक आन्दोलनतर्फ नजाने उनले बताए । उनले आफूले बोलेका कतिपय कुराको अपव्याख्या भएको बताए ।
‘मैले बोलेको कुराको बेलाबेला अपभ्रंश पनि हुने गरेको छ । हेर्दाहेर्दै आफ्नै पार्टीको, आफैँले प्रस्ताव गरेको प्रधानमन्त्रीले संविधानको बच्चाको हत्या भएको छ । मैले कुनै हिंसाको प्रोत्साहन गर्न विद्यार्थीलाई आक्रमक हुन भनेको होइन । केपी ओलीको कदमप्रति हाम्रो आक्रोश छ । हामी बन्दुक होइन मतपत्रको भाषाबाट देश निर्माण गर्ने हो’, प्रचण्डले भने ।
संसद् विघटन गर्न प्रधानमन्त्री केपी ओलीले गरेको सिफारिसमा राजाको भाषा ह्वास गनाएको टिप्पणी प्रचण्डले गरे । नेपाली जनता सार्वभौम भएको तर ओलीको सिफारिसमा त्यसको दुर्गन्ध भेटिने उनको भनाइ छ । ‘तपाईं हेर्नुहोला, कत्तिको याद गर्नु भएको छ, केपीको त्यो सिफारिसमा राजामहाराजाहरूको दुर्गन्ध ह्वास्सै गन्हाएको छ,’ उनले भने ।