संसद् विघटन राजतन्त्र पुनःस्थापना गर्ने प्रयत्न : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले जननिर्वाचित प्रतिनिधिसभा विघटन गरेर मुलुकमा फेरि राजतन्त्र पुनःस्थापना गर्ने प्रयत्न भएको बताएका छन् । प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै उनले संसद्को अन्य गरेर मुलुकलाई निरङ्कुशता र अनिश्चयको भूमरीतर्फ धकेल्ने प्रयास भएको दावी गरे ।

प्रतिनिधिसभा विघटन गरेर सात दशक लामो सङ्घर्षपश्चात् जनताले प्राप्त गरेका सङ्घीय लोकतान्त्रिक गणतन्त्र, जनताको प्रतिनिधिद्वारा निर्मित संविधानलगायत उपलब्धिलाई समाप्त पार्ने प्रयास भएको जिकिर गर्दै उनले यसलाई हरहालतमा रोक्नुपर्ने बताए ।

‘कसैले नेपाललाई फेरि अनिश्चयको भूमरीमा लैजाने, मुलुकलाई संविधानहीनताको अवस्थामा पुर्‍याउने, तानाशाहको हातमा लैजाने प्रयत्न गर्छ भने त्यसलाई रोक्ने दायित्व जनताको हो,’ उनले भने । मुलुकको राजनीतिक परिवर्तनमा सञ्चार जगतको भूमिका अनुकरणीय रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सञ्चारकर्मीले सङ्घीयता, संविधानसभा र गणतन्त्रको पक्षमा वकालत गरेकै कारण परिवर्तन सम्भव भएको बताए ।

याे पनि पढ्नुस  राष्ट्रिय सभाको बैठक बस्दै, के–के छन् कार्यसूची ?

परिवर्तनको पक्ष तथा प्रतिगमनको विपक्षमा जनमत निर्माण गर्न पनि सञ्चार जगतको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो । ‘जनताको प्रतिनिधिद्वारा लिखित संविधान बचाउनु छ, परिवर्तनलाई जोगाउनु छ, प्राप्त उपलब्धिको रक्षा गर्न सञ्चार जगतको भूमिका बढेर गएको छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले पार्टी कमिटीको बहुमतको निर्णयलाई सहजै स्वीकार नगर्दा पार्टीभित्र समस्या देखिएको बताउँदै अध्यक्ष प्रचण्डले संसद् विघटन गरेर ओलीले नेपाली जनतालाई धोका दिएको आरोप लगाए । ‘मैले भनेको छु, तपाईंले बाजी हारिसक्नुभयो । लडाइँ हारिसक्नुभयो । संविधानवाद, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र सार्वभौम नेपाली जनताकाविरुद्ध जब तपाईंले तरबार उज्याउनुभयो । तपाईंले लडाइँ हार्नुभयो । जनताले लडाइँ जित्यो,’ उनले भने ।

याे पनि पढ्नुस  नेकपा संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत चयन

नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीभित्रैबाट नेतृत्वमा पुगेको व्यक्तिबाट जनप्रतिनिधिमूलक संस्था विघटन गरिनु नेपाली राजनीतिक इतिहासमा बिडम्वना भएको बताए । मुलुकको राजनीतिक परिवर्तनमा सञ्चार जगत्को उल्लेख्य भूमिका रहेको स्मरण गर्दै उनले सरकारको कदमका विरुद्ध जनतालाई जागृत बनाएर आन्दोलनको आँधीबेहरी सिर्जना गर्न सञ्चारकर्मीलाई आह्वान गरे ।

‘प्रतिनिधिसभा विघटनबाट सङ्घीयता र परिवर्तन सङ्कटमा परेको छ । यो बेला सही र गलत छुट्याउन सक्नुपर्छ, सत्यको पक्षमा उभिने नै असली नेता हुन्छ, परिवर्तनको रक्षा गर्नु साझा दायित्व बनेको छ,’ उनले भने । सुन्दर समाजको परिकल्पना साकार पार्न आनदोलन सुरु गरिएको र यसमा पत्रकारको सकारात्मक भूमिका आवश्यक रहेको पनि उनको भनाइ थियो ।

पार्टी स्थायी कमिटी सदस्य एवं केन्द्रीय सङ्घर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जनताको आन्दोलनको बलमा समाज र व्यवस्था बदले पनि पार्टीभित्रको प्रवृत्ति बदल्न नसक्दा मुलुक आजको अवस्थामा प्रवेश गरेको बताए । उनले संसद् विघटनबाट सात दशक लामो जनताको सङ्घर्षबाट प्राप्त गणतन्त्र, सङ्घीयतालगायत उपलब्धि खतरामा परेको बताए ।

याे पनि पढ्नुस  संसारभरी नयाँ समाजवादको मोडल दिने नेतृत्वको सपना छः अध्यक्ष प्रचण्ड

केन्द्रीय कमिटी सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले सरकार संसद् विघटन गरेर असंवैधानिक ढङ्गबाट अगाडि बढेकाले प्रेस स्वतन्त्रता पनि खतरामा परेको बताए ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमबाट संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भएको महासङ्घको ठहर रहेको गरेको जानकारी दिए । उनले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि सञ्चार जगतले एकता प्रदर्शन गर्नुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्