बिराटनगर । प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक तीन मिनेटमात्रै बसेर अनिश्चितकालका लागि स्थगित भएको छ ।
प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र पढेर बैठक स्थगित गरिएको हो । त्यसअघि राष्ट्रिय गान बजाइएको थियो ।
प्रदेश प्रमुखको पत्र वाचन गरेलगत्तै सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित भएको जानकारी दिए ।
कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेश सभा अधिवेशनको कार्यसूचीमा प्रदेश प्रमुखबाट प्राप्त पत्र मात्र पढेर बैठक स्थगित गर्ने सहमति भएपछि अधिवेशन तीन मिनेटमात्रै बसेर स्थगित भएको हो ।
मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको र नेकपाका दुई समूहले एक अर्कालाई निलम्बन गरेको कारण प्रदेश सभा बैठक संचालनमा समस्या देखिएको थियो ।
प्रदेश सभा अधिवेशनको शुभारम्भमा प्रत्येक दलका तर्फबाट शुभकामना मन्तव्य दिने कार्यक्रम पनि स्थगित गरिएको थियो ।