काठमाडौं । नेकपा (प्रचण्ड–माधव समूह) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संविधान आफैंमा पूर्ण नभए पनि अधिकतमरुपले आदिवासी जनजाति तथा पछाडि परेका वर्ग समुदायको अधिकारलाई अधिकांशरुपमा संस्थागत गरेकाले संविधानको संरक्षणमा जुट्न आग्रह गरेका छन् ।
सो पक्षको बुधबार पेरिसडाँडामा आयोजित आदिवासी जनजाति राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले त्यस्तो आग्रह गरेका हुन् । संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्दा सबै जाति वर्ग समुदायको भूमिका महत्वपूर्ण रहेकाले सबैले समानरुपमा अवसर प्राप्त गर्ने हक रहेको चर्चा गरे ।
अहिले गणतन्त्र संकटमा परेको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्रको रक्षाका लागि सबै एक हुनुको विकल्प नरहेको बताए । ‘पहिले सबै शक्ति र सार्वभौम अधिकार राजकीय संस्थामा नीहित थियो, तर पहिलो पटक यो संविधानले सबैलाई समान अधिकार प्रदान गरेको छ, यसलाई सबै मिलेर जोगाउनुपर्छ’, प्रचण्डले भने ।
सबै जाति समुदाय र वर्गको पहिलो पटक संविधानले अधिकार संस्थागत गरेकाले संविधानको संरक्षण गर्दै थप अधिकारका लागि अघि बढ्नुपर्ने उनले बताए । संविधानले नै निरन्तर परिमार्जन गर्ने व्यवस्था गरेकाले छुटेका थप अधिकार सम्बोधन गर्दै जान सकिने अध्यक्ष प्रचण्डले विश्वास दिलाए ।
नेपालको संविधानले आदिवासी जनजाति, महिला, थारु, मधेसी, दलित, पिछडावर्ग तथा पछाडि परेका सबै वर्गको अधिकारलाई धेरथोर सम्बोधन गरेको उनले बताए ।