काठमाडौंः काठमाडौं उपत्यकाभित्र लागुऔषध, खैरो हेरोइनको कारोबार गर्ने जालो प्रहरीको फन्दामा परेको छ ।
लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौं उपत्यकाभित्र लागुऔषध खैरो हेरोइनको कारोबार गर्ने जालोलाई पक्राउ गरेको हो । लागुऔषध खैरो हेरोइनसहित नौ जना पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट ब्युरोले ५ सय ३६ दशमलव पाँच ग्राम खैरो हेरोइन बरामद गरेको छ । यो परिमाण प्रहरीले बरामद गरेको अहिलेसम्मकै धेरै हो । ब्युरोले उनीहरूको साथबाट ७ दशमलव ५ ग्राम एमफेटाइमन आइस ड्रग र लागुऔषध तौल गर्ने मेसिन पनि बरामद गरेको छ ।
यस्तै ६ लाख ७१ हजार पाँच सय रुपैयाँ नगद, ६ हजार एक सय अमेरिकन डलर र तीन थान सवारी साधनसमेत बरामद गरेको छ । ब्युरोका प्रमुख एसएसपी दीलिपकुमार चौधरीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको जानकारी दिँदै काठमाडौं उपत्यकाभित्र कारोबार गर्ने अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको जानकारी दिए ।
लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ परेका नौ जनालाई नै बुधबार सार्वजनिक गरेको हो । ब्युरोका अनुसार पक्राउ परेका व्यक्तिहरूले लागुऔषध खैरो हिरोइन प्रति एक ग्राम तीन हजारदेखि १० हजार रुपैयाँसम्ममा बिक्री वितरण गरेको अनुसन्धानमा देखिएको पनि जानकारी दिइएको छ ।