चितवन : चितवनको भरतपुरमा निर्माणाधिन सिटी हलको निर्माण कार्यले गति लिएको छ । महानगरको गौरवको आयोजना भित्र पर्ने सिटी हल अन्तर्राष्ट्रिय स्तरको नमुना मोडेलमा निर्माण गर्न धमाधम काम भइराखेको हो । भरतपुर-१० स्थित जिल्ला समन्वय समितिको कार्यालय पछाडि ४ बिघा ४ कठ्ठा जग्गामा धमाधम सिटी हल निर्माणको काम भइरहेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिए।
निर्माण अन्तर्तगत अहिले जमिन मुनीको काम भइराखेको छ । २७ महिनामा निर्माण सम्पन्न गर्नेगरी ८७ करोड ८८ लाख ८८ हजार ८८८ रुपैयाँ लागतमा ठेकेदार कम्पनीसँग सम्झौता भएको हो । ठेकेदार कम्पनी इण्डो-सगुन-रौताहा जेभीले २४ घण्टा निर्माणको काम गरिरहेको छ । ६ हजार ५०० वर्गमिटर सिटी हलले ओगट्छ । सिटी हलको उचाइ २५ मिटरको हुनेछ । केन्द्र सरकारको ८७ करोड ८८ लाख रुपैयाँ लागतमा भरतपुरमा सिटी हल निर्माणको काम थालिएको हो ।
७ हजार १०० क्युफिटमा मुख्य सभा हल निर्माण हुनेछ । सिटी हल दुई हजार मानिस अट्ने क्षमताको रहन्छ । छेउछाउँमा पनि २०० जना अट्ने क्षमताको हल बन्नेछ । यस्तै पार्किङको व्यवस्था र सौन्दर्यताको लागि फाउन्टेन पनि निर्माण गरिनेछ ।
सिटी हल निर्माण स्थलको विहीबार निरिक्षणपछि महानगर प्रमुख दाहालले लामो प्रतीक्षापछि तीव्रगतिमा निर्माणको काम भइरहँदा ज्यादै खसी लागेको बताए। आफ्नै कार्यकाल भित्र महानगरको सिटी हल निर्माणको काम सकेर हस्तान्तरण गर्ने प्रतिबद्धता गरे ।
सघन शहरी तथा भवन निर्माण आयोजना चितवनबीच ०७७ मंसिर १८ गते जेभीसँग निर्माणको सम्झौता भएको हो । सिटी हल निर्माणको कार्य धमाधम भइरहेको इण्डो-सगुन-रौताहा जेभीका प्रमुख सहदेव खड्काले बताए । उनले भने, ‘हामीले १२० भन्दा बढी निर्माणका कर्मचारी राखेर काम गरिरहेका छौँ, तोकिएको समय २७ महिना हो, त्योभन्दा अगावै हामी निर्माण सम्पन्न गर्नेछौँ ।’
सिटी हल निर्माण गर्न यस आर्थिक वर्ष ०७७/७८ को लागि २५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । सिटी हलको अहिले सोलिङ र इस्काभेसनको काम भइरहेको निर्माण पक्षले जनाएको छ । कामगर्ने क्रममा कुनै अवरोध नआए समयअगावै काम सकिने निर्माण व्यवसायी खड्काले बताउनु भयो । उनका अनुसार निर्माणस्थल भित्रै रेडिमिक्स प्लान्ट नै राखेर काम भइरहेको छ ।
पार्किङको व्यवस्था र सौन्दर्यताको लागि फाउन्टेन पनि निर्माण गरिनेछ । अन्तर्राष्ट्रिय स्तरको बन्ने भनिएको आधुनिक सिटी हल २ हजार जना मानिस अट्न सक्ने क्षमताको हुने सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले बताए । गोरखापत्रबाट साभार