शक्ति प्रदर्शनको अन्तिम तयारी, तोकिएका नारा मात्र लगाउन निर्देशन, कुन नेताले कहाँ नेतृत्व गर्दैछन् ?

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाले आज विशाल बिरोध प्रदर्शनको तयारी पुरा गरेको छ ।

अपरान्ह १२ बजेदेखि रत्नपार्कबाट शुरु हुने प्रदर्शनका लागि बिभिन्न ९ वटा स्थानबाट सहायक जुलुसहरु निस्किने भएका छन् । काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, कुपन्डोल, प्रदर्शनीमार्ग, शान्तिवाटिका, त्रिपुरेश्वर, त्रिचन्द्र कलेज, बाल्मिकी कलेज गरी ९ ठाउँबाट निस्किने जुलुस रत्नपार्कमा पुगेर मूल जुलुसमा परिणत हुनेछ

केन्द्रीय सङ्घर्ष समितिले सभा र जुलुसलाई मर्यादित बनाउँदै निर्धारित नारा मात्र लगाउनुपर्ने निर्देशिका जारी गरेको छ। यस अगाडिको विरोध प्रदर्शनमा राष्ट्रपति र प्रधानमन्त्रीलाई गाली गर्दै अश्लिल नारा लागेपछि सामाजिक संजालमा चर्को आलोचना भएको थियो।

विरोध प्रदर्शनमा बाग्मती प्रदेश, प्रदेश नं. २ र अन्य प्रदेशबाट समेत कार्यकर्ता सहभागी हुने नेकपाले जनाएको छ । नेकपाका एक नेताका अनुसार, सबै संगठनहरुलाई मर्यादित र अनुशासित भएर जुलुसमा सहभागी हुन निर्देशन दिइएको छ ।

विरोधसभा सुरु हुनुअघि राजधानीका विभिन्न स्थानबाट निकालिने जुलुसको नेतृत्व प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य गणेश साह, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, वेदुराम भुसाल भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईँ, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, घनश्याम भुसाल, जनार्दन शर्मा, योगेशकुमार भट्टराईलगायतले गर्ने बताइएको छ।

सभालाई नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने जनाइएको छ।

कमेन्ट गर्नुहोस्