काठमाडौं । भरतपुर महानगरकी मेयर रेनु दाहालले काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो परिवारप्रति पटकपटक व्यक्तिगत प्रहार गरी राजनैतिक हिंसा गरेको आरोप लगाएकी छिन् ।
बिहीबार ओलीले नेकपा अध्यक्ष प्रचण्डले आफ्ना छोरी–ज्वाइँका लागि मात्रै काम गरेको आरोप लगाएपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै दाहालले सो आरोप लगाएकी हुन् ।
दाहालले ‘बा’ ले राजनीती गर्ने छोराछोरीले त्यसको लाभ लिएर लुट्नुपर्ने हो ? भन्दै ओलीलाई प्रश्न गरेकी छन् । ओलीलाई उनको समूहका अधिकांश नेताले ‘बा’भनेर सम्बोधन गर्छन् । त्यसैतर्फ संकते गर्दै दाहालले ‘बा’ ले राजनीती गर्ने छोराछोरीले त्यसको लाभ लिएर लुट्नुपर्ने हो ? भन्दै ओलीलाई प्रश्न गरेकी हुन् ।
‘हामी माथि केपी ओलीबाट छोराछोरीको नाममा पटक पटक ब्यक्तिगत प्रहार गरि राजनैतिक हिंसा भएको छ’, दाहालले आपत्ति जनाउँदै भनेकी छन्, ‘ के जीवन भरि सबै चाहनाहरू त्यागेर जनताको हितमा लडियो, लागियो, व्यक्तिगत स्वार्थमा कहिल्यै लागिएन, सेवामा समर्पित हुनु कमजारी हो ? नकि अरूको जस्तो बा ले राजनिती गर्ने छोराछोरीले त्यसको लाभ लिएर लुट्नुपर्ने हो ?’
उनले थप आक्रोश पोख्दै भनेकी छन्, ‘तपाईंले जन्माएका छोराछोरी छैनन् भन्दैमा फेरि तपाईंले के आफ्नो गुट, आसेपासे र साइबर सेनामा भर्ति भएकालाई भन्दा बढ्ता कसलाई के गर्नु भएको छ ? अति भो महाराज !’
उनले मत्रपत्र च्यातेर मेयर बनेको भनाइप्रति पनि आपत्ति जनाएकी छन् । २९ वटा वडामध्ये एउटा वडामा मात्रै त्यस्तो घटना घटेको त्यो दुर्घटनाले आफूलाई दुखित बनाएको भन्दै उनले आफूले २९ वटै वडाका जनताको अभिमतले जितेको दाबी गरेकी छन् ।
उनले लेखेकी छन्, ‘आफू ३ करोड नेपाली जनताको मत च्यातचुत गर्ने र तानाशाही शासक बन्दै संबिधान कानुनभन्दा माथि ठान्ने यो के हो ?’