जनताको सेटिङलाई कसैले भत्काउन सक्दैन– प्रचण्ड

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले जनताको सेटिङलाई कसैले भत्काउन नसक्ने बताएका छन् ।

संसद् विघटनविरुद्ध आयोजित विरोध सभामा प्रचण्डले भने, ‘केपी र केपी नजिककाले हामीले सेटिङ मिलाइसकेका छौं भनेर प्रचार गरेका छन् । तर आजको यो सागर र देशैभरि भएको बिरोध प्रदर्शनमा देखिएको जनताको सागर आफैमा ऐतिहासिक छ । यसले त्यस्ता षडयन्त्रकारी सेटिङ सिध्याएर जनताको सेटिङ तयार गर्दैछ । जनताको सेटिङलाई कसैले भत्काउन सक्दैन ।’

उनले अदालत र निर्वाचन आयोगप्रति आफूहरूले भरोसा गरेको बताए ।

केपीको सनकको भरमा उनको निरंकुशतालाई कसैले पनि समर्थन गर्छ र बचाउ गर्छ भन्ने आफूलाई नलागेको उनले बताए ।

‘आज काठमाडौंका जनतामा उर्लेको जनसागरलाई अदालतले पनि राम्रैसँग देखेको होला । अदालतका निर्णयमा जनताको भावना पनि एउटा कारक तत्वका रुपमा रहन्छ । सर्वोच्चको पूर्व प्रधानन्यायाधीशहरुले यो असंवैधानिक हो भन्दा तिनलाई गाली गर्ने, पत्रकारले लेख्दा उनीहरुलाई गाली गर्ने । अहिले केपी ओलीका साइबरहरुले आज सहभागी पेशागत कर्मचारी साथीहरुको रकेर्ड राख्ने, कार्वाही गर्ने भनेर साइबर स्यालहरुले प्रचार गरिरहेका छन्, उनीहरुको रेकर्ड राख्ने भनिरहेका छन् । म केपी र उनका स्यालहरुलाई चुनौती दिन चाहन्छु, एउटालाई छोएर देखाउ । म कर्मचारी साथीहरुलाई नडराउन अनुरोध गर्दछु । तपाईलाई रौंसम्म छिसिक्क भएपनि त्यसको क्षतिपूर्ति हामी दिन्छौं । अब छिट्टै जनताको सरकार आउनेवाला छ, त्यसले केपी ओली र उनको गुटलाई कार्वाही गर्ने छ’, प्रचण्डले भने ।
प्रचण्डले अगाडि भने, ‘लोकतन्त्रका पक्षमा उभिनेलाई कार्वाही गर्ने ? अनि हिजो ज्ञानेन्द्रका मानिसहरु केपीको पछि दौडेका छन, उनलाई पुरस्कृत दिने ?’

कमेन्ट गर्नुहोस्