कोरोना खोप लगाउने चार लाख ३० हजारको सूची तयार, को को परे त ?

काठमाडौं । भारतले अनुदानमा दिएको कोभिड– १९ विरुद्धको ‘कोभिसिल्ड’ खोप सरकारले आइतबारदेखि क्षेत्रीय मेडिकल स्टोरमा ढुवानी गर्दै छ । त्यहाँबाट जिल्लाहरूमा वितरण हुनेछ । खोप लगाउन सरकारले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र अन्य जोखिमयुक्त क्षेत्रमा काम गर्ने चार लाख ३० हजार कर्मचारीको सूची तयार गरिसकेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मीलाई राखिएको छ । उनीहरूको संख्या दुई लाख २५ हजार सात सय ८२ छ । बाँकी सरसफाइकर्मी, एम्बुलेन्सचालक, शववाहनचालक, महिला स्वास्थ्य स्वयंसेविका र फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी छन् ।

याे पनि पढ्नुस  नेपालमा कोरोनाका कारण थप तीनको मृत्यु

केही दिनभित्रै ७७ वटै जिल्लामा एकसाथ खोप अभियान सुरु गरिने मन्त्रालयले जनाएको छ । खोप लगाउन कसैलाई बाध्य भने पारिनेछैन । महाअभियान भएकाले कोभिड संक्रमित भई निको भएका र नभएका सबैले स्वेच्छाले खोप लगाउन सक्नेछन् ।

स्रोतका अनुसार स्वास्थ्य सेवा विभागले खोप शनिबार नै क्षेत्रीय मेडिकल स्टोरमा ढुवानी गर्न तीनवटा गाडी तयार गरिसकेको थियो । तर, मन्त्रालयले स्वीकृति दिइनसकेका कारण जान पाएनन् । ‘नयाँ खोपका प्रयोग गर्न विभागलाई स्वास्थ्य मन्त्रालयले स्वीकृति दिनुपर्छ । त्यसको पत्र आइनसकेका कारण शनिबार गाडी जान पाएनन् । आइतबार स्वीकृति आउनेबित्तिकै जान्छन्,’ विभाग स्रोतले भन्यो ।

याे पनि पढ्नुस  सेप्टेम्बरसम्म १० लाख डोज कोरोना खाेप बनाउने तयारी, एकैपटक २१ वटा ल्याबमा काम हुँदै, डब्ल्यूएचओको प्रोटोकल उल्लंघन

अक्सफोर्ड/एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपका एक लाख भायल भारतले अनुदानमा दिएको छ । गत बिहीबार खोप काठमाडौं आइपुगेको थियो । एक भायलमा १० डोज खोप हुन्छ । खोप टेकुस्थित स्वास्थ्य सेवा विभागको केन्द्रीय खोप भण्डारणगृहमा राखिएको छ । महामारी नियन्त्रणमा फ्रन्टलाइनमा खटिएकाको संख्याका आधारमा ती खोप विराटनगर, हेटौँडा, काठमाडौं, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीस्थित क्षेत्रीय मेडिकल स्टोरमा पठाइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

याे पनि पढ्नुस  कोरोना संक्रमणबाट किस्ट अस्पतालमा महिलाकाे निधन

खोपविज्ञ डा. श्यामराज उप्रेतीकाका अनुसार एक व्यक्तिले दुई डोज खोप लगाउनुपर्छ । पहिलो खोप लिएको २८ दिनपछि मात्रै दोस्रो डोज लगाइनेछ । ‘कोभिसिल्ड खोप पहिलो डोज लगाएपछि नै कोरोना भाइरससँग लड्न सक्ने क्षमता विकास हुन्छ । चार सातापछि दोस्रो डोज लगाएपछि शरीरमा पर्याप्त एन्टिबडी बन्छ,’ उप्रतीले भने । नयाँ पत्रिका

कमेन्ट गर्नुहोस्