पौने ३ करोड ठगी मुद्दामा ओलिम्पिया वर्ल्ड स्कूलका सञ्चालक पक्राऊ

पौने तीन करोड ठगीको मुद्दामा ओलम्पिया वर्ल्ड स्कुलका सञ्चालकद्वय पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले स्कुलका सञ्चालकद्वय शिरिष खड्का र सुरेन्द्र महर्जनलाई शनिबार पक्राउ गरेको हो ।

अदालतबाट जारी भएको वारेन्टका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी परिसरका प्रमुख एसएसपी अशोक सिंहले दिए । उनका अनुसार अन्य चार सञ्चालक फरार छन् ।

उनीहरुले स्कुलको नाममा कोटेश्वरमा रहेको दुई रोपनी १४ आना दुई पैसा जग्गा विक्री गर्न कृष्णप्रसाद देवकोटासँग वैशाख २०७६ मा २ करोड ७५ लाख बैना लिएका थिए । तर, जग्गा अर्कैलाई बेचेका उनीहरुले बैना रकम समेत फिर्ता नगरेको देवकोटाको उजुरीमा उल्लेख छ ।

बैना रकम फिर्ता गर्न वा जग्गा बिक्री गर्न लामो समय देवकोटाले ताकेता गरे पनि उनीहरुले शक्तिको आडमा अनेक कानुनी दाउपेच गरी छल्दै आएको आरोप पीडितको छ। पक्राउ परेका खड्का न्यायपरिषद्का सदस्य लक्ष्मीबहादुर निराला खड्काका छोरा हुन् ।

बैना फिर्ता नगरेको र तोकिएको मितिभित्र जग्गा पास नगरेको भन्दै देवकोटाले एक वर्ष अगाडि नै जाहेरी दर्ता गरे पनि प्रहरीले पक्राउ गर्ने हिम्मत गरेको थिएन । उनीहरुले फरार रहेकै अवस्थामा गत कार्तिक २७ गते जग्गा अर्कैलाई बेचेको आरोप पीडितको छ ।

प्रहरीका अनुसार स्कुलको जग्गा विक्री गर्दा काठमाडौं महानगरपालिकाको शिक्षा शाखाबाट अनुमति समेत नलिएको अनुसन्धानबाट खुलेको छ। ।

कमेन्ट गर्नुहोस्