विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् पुनःस्थापना नभए यसबाट उत्पन्न हुने द्वन्द्वले मुलुकमा विग्रह आउन सक्ने चेतावनी दिएका छन् ।
आइतबार विराटनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले मुलुकमा शान्ति र स्थिरताका लागि पनि संसद् पुनःस्थापना गरिनुपर्ने बताए ।
पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद्को विघटनलाई सर्वोच्च अदालतले सदर गर्ने हो भने मुलुक अफगानिस्तान हुने समेत चेतावनी दिए ।
‘सर्वोच्च अदालतबाट संसद्को पुनःस्थापना भएन भने मुलुकमा ठूलो द्वन्द्व मच्चिनेछ र त्यो द्वन्द्वले अन्ततः नेपाललाई विग्रहको बाटोमा लैजानेछ,’ नेता पौडेलले भने, ‘सर्वोच्च अदालतबाट प्रतिनिधिसभाको विघटनलाई सदर गर्ने काम भयो भने प्रतिनिधिसभा सँगसँगै वर्तमान संविधानको पनि अन्त्य हुन्छ ।’
उनले प्रधानमन्त्री ओलीले यो राजनीतिक निर्णय हो भनेर अदालतलाई किन धम्की दिइरहेछन् भन्ने प्रश्न गरेका छन् ।
वरिष्ठ नेता पौडेलले कांग्रेसले कम्युनिष्टको एजेन्डा नभइ आफ्नै एजेन्डामा जानुपर्ने बताए । उनले कांग्रेसमा दुई लाइन नभएको प्रस्ट पारे । ‘प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी र सर्वसत्तावादको बाटो लिएकाले सच्चिनु पर्ने निर्णय नै कांग्रेसको लाइन हो,’ पौडेलले भने, ‘यो पार्टीको लाइन छोड्ने आफैं बेलाइन भएर जान्छ ।’
सर्वोच्च अदालतमा सेटिङ गर्ने प्रधानमन्त्री ओलीले कस्तो चुनाव गराउँछन् भन्ने उनले प्रश्न उठाए । पौडेलले विकासको बजेट कटौती गरी अर्बौं खर्चेर भ्रष्टाचार बढाउने चुनाव आवश्यक नभएको बताए ।