आज पौडेल पक्षको बैठक बस्दै, संयुक्त आन्दोलनका लागि देउवालाई दबाब दिने रणनीति

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बैठकको आयोजना गरेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा जाने वा निर्वाचनको पक्षमा भन्ने विवादमा रहेका बेला पौडेल समूहले भोली बस्ने केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा तय गर्न बैठक बस्न लागेको हो ।

पार्टी सभापति शेरबहादुर देउवाले नयाँ जनमतमा जानु स्वभाविक भएको भन्दै निर्वाचनमै जानुपर्ने धारणा अघि सारेपछि पौडेल पक्षले त्यसको विरोध गर्दै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदमबाट प्रतिनिधिसभा विघटन गरेको भन्दै पार्टीले त्यसको विरोध गर्नुपर्ने पौडेल पक्षको माग छ ।
देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिन आव्हान गरेपनि संयुक्त आन्दोलनको पक्षधरता भने लिएका छैनन् । अदालतले पुनस्र्थापना नगरे निर्वाचनमा जान तयारी गर्नुपर्ने उनको मत रहेको छ । जबकि पौडेल पक्षले निर्वाचन भन्दा ठूलो कुरा संविधान रक्षाको भएकोले तत्काल संयुक्त आन्दोलनमा जानुपर्ने बताउँदै आएको छ । त्यसो त कांग्रेसले यसअघि नै देशका सबै निर्वाचन क्षेत्र, स्थानीय तह र वडाहरुमा बिरोध प्रदर्शन गरिसकेको छ ।

याे पनि पढ्नुस  प्रतिनिधिसभा विघटनविरुद्ध १२ रिट

कतिपयले देउवाले प्रधानमन्त्री बन्ने लोभमा प्रधानमन्त्री ओलीसँग साँठगाँठ गरेको आरोप समेत कांग्रेसभित्र लाग्दै आएको छ ।

बैठकमा प्रदेशका मुख्यमन्त्रीहरुविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको अवस्थामा पार्टीको आगामी रणनीतिका बारेमा छलफल गर्न काँग्रेसले भोली केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

कमेन्ट गर्नुहोस्