नौबस्ता औद्योगिक क्षेत्रको निर्माण गर्न सुरक्षाकर्मी तैनाथ गर्ने तयारी

काठमाडौंः घोषणा गरिएको ५ वर्ष बिते पनि वस्ती व्यवस्थापन गर्न नसकिँदा अझैँ नौबस्ता औद्योगिक क्षेत्र निर्माणको काम सुरु हुन सकेको छैन । पटक पटक प्रयास गरिए पनि औद्योगिक क्षेत्रको जग्गा कब्जा गरेर वस्ती बनाएकाहरुलाई त्यहाँबाट हटाउन नसक्दा निर्माण कार्य शुरु गर्न सकिएको छैन । तर अब सुरक्षाकर्मी खटाएर भए पनि काम शुरु गर्ने निष्कर्शमा स्थानीय प्रशासन पुगेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले पटक पटक वस्ती व्यवस्थापन सहज तरिकाले गर्न खोजिएकोमा त्यसो गर्न नमानिएकाले सुरक्षाकर्मी परिचालन गरेरै भए पनि काम अगाडि बढाउने तयारी गरिएको बताए । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटाएर औद्योगिक क्षेत्र निर्माणको कामलाई अगाडि बढाइने उनले बताए ।

प्रदेशकै ठूलो औद्योगिक क्षेत्रका रुपमा निर्माण गर्न लागिएको उक्त औद्योगिक क्षेत्रको काम वस्ती व्यवस्थापन हुन नसकेकै कारण रोकिएको छ । औद्योगिक क्षेत्रको जग्गामा घरबार बनाएर बसेकाहरुले निर्माणमा अवरोध पुर्‍याउँदै आएका छन् । सो औद्योगिक क्षेत्रको ९० प्रतिशत खाली जग्गामा निर्माण कार्य तत्काल शुरु गर्ने र वस्ती व्यवस्थापनको चुनौती मानिएको १० प्रतिशत क्षेत्रका विषयमा समझदारी कायम गर्दै अघि बढ्ने रणनीति अपनाएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय नेपालगञ्जका प्रमुख कृष्णबहादुर पुनले बताए ।

३३८ बिघा क्षेत्रफलमा निर्माण गरिने सो औद्योगिक क्षेत्रभित्र तीनसय हाराहारीमा घर निर्माण गरिएका छन् । परियोजना सुरु नहुँदै त्यहाँ सो वस्ती बसिसकेको थियोे । सरकारले २०७२ चैत १ गते बाँकेमा उक्त औद्योगिक क्षेत्र निर्माणको घोषणा गरेको थियो । औद्योगिक क्षेत्रको डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) समेत तयार भैसकेको छ ।

सो परियोजनाको काम अगाडि बढाउन सरकारले ६१ करोड रुपियाँ बजेट पनि विनियोजन गरेको छ । ३३८ बिघामध्ये ३१ जग्गा बिघा जग्गा वस्तीका लागि छुट्याउने प्रस्ताव अघि सारिए पनि सफल हुन नसकेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय नेपालगञ्जले जनाएको छ ।

औद्योगिक क्षेत्रको डीपीआर अनुसार त्यहाँ तीनसय उद्योग स्थापना हुन सक्नेछन् । यसले लुम्बिनी र कर्णाली प्रदेशको विकासमा आर्थिक योगदान पुर्‍याउने आशा गरिएको छ । उक्त औद्योगिक क्षेत्र निर्माण गरिने भनेको बैजनाथ गाउँपालिकाले पनि वस्ती व्यवस्थापनका लागि पटकपटक प्रयास गर्दै आएको छ । तर स्थानीयले अटेर गर्दै आएकाले काम सुरु हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्