काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली कम्युनिष्ट पार्टी चरित्रका व्यक्ति नभएको आरोप लगाएका छन् ।
नेकपाको प्रचण्ड-नेपाल समूहले मङ्गलबार पाँचथरको फिदिममा आयोजना गरेको पार्टी प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जालझेल र षड्यन्त्रपूर्वक तानाशाही तरिकाले प्रतिनिधि सभा विघटनको कदम चालेकाले केपी ओलीमा कम्युनिष्ट पार्टीको चरित्र नदेखिएको बताए ।
अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीले नीति, सामूहिक छलफल, लोकतान्त्रिक संस्कार, क्रान्तिकारी सोच मान्ने तर केपी ओलीमा यी कुनै पनि चरित्र नभएको टिप्पणी गरे ।
उनले सूर्य चुनाव चिह्न र पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफूले पाउने पनि दाबी गरे । फरक प्रसङ्गमा उनले वैशाख महिनामा चुनाव हुने कुनै सम्भावना नभएको बताए ।
पार्टी प्रशिक्षण भेलालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य जनार्दन शर्माले पनि सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै शर्माले केपी ओलीले तानाशाह प्रवृत्तिबाट प्रतिनिधि सभा विघटनको कदम चालेकाले सडक सङ्घर्षबाट प्रतिनिधि सभा पुनस्र्थापना गर्ने चेतावनी दिए ।