काठमाडौं : अफगानिस्तान विरुद्धको एकदिवसीय क्रिकेट सिरिजको अन्तिम तथा तेस्रो खेलमा आयरल्याण्ड ३६ रनले पराजित भएको छ ।
अफगानिस्तानले दिएको २ सय ६७ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले ४७.१ ओभरमा सबै विकेट गुमाएर २ सय ३० रन मात्र बनाउन सक्यो ।
उसका लागि पउल स्टर्लिङले शतक बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । उनले ११९ बलमा ६ छक्का र ९ चौकासहित ११८ रन बनाए ।
त्यस्तै, ह्यारी टेक्टर २४, लोर्कान टकर २२, सिमी सिंह २०, एन्डी म्याकब्रिन १६, कर्टिस क्याम्पर १२ रनमा आउट भए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
बलिङमा राशिद खानले ९ ओभरमा २९ रन दिएर चार विकेट हात पारे । त्यस्तै, मुजीबउर रहमानले दुई, मोहम्मद नाबी र नवीनउल हकले एक/एक विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको अफगानिस्तानले आयरल्याण्डलाई २ सय ६८ रनको लक्ष्य दिएको छ ।
उसका लागि राशिद खानले ४८, कप्तान अशघर अफगानले ४१, गुलबन्दिन नाइबले ३६, मोहम्मद नाबीले ३२, रहमानुल्लाह गुर्बाजले २२, जोवेद अहमदीले १९, अश्मतुल्लाह शाहीदीले १०, मुजीबउर रहमानले अविजित १८ र नवीनउल हकले नटआउट १० रन बनाए ।
बलिङमा क्रेग योङ, सिमी सिंहले तीन/तीन, ह्यारी टेक्टर, जाेश लिटल र एन्डी म्याकब्रिनले एक/एक विकेट लिए ।
आजको जितसँगै तीन खेलेको सिरिज अफगानिस्तानले ३-० ले ‘क्लिनस्विप’ गरेको छ ।