काठमाडौं । यातायात व्यवस्था कार्यालय, जनकपुरधामका कार्यालय सहयोगी भोगेन्द्र कापर र बिचौलिया राज किशोर भगत घुससहित पक्राउ परेका छन् ।उनीहरूलाई अख्तियारले २ लाख ७३ हजार ८५० रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
यातायात व्यवस्था कार्यालय, जनकपुरधाममा भैरहेको स्काभेटर र लोडरको सवारी चालक अनुमती पत्र (लाइसेन्स) वितरण गर्ने क्रममा सञ्चालित अन्तिम परिक्षाका परिक्षार्थीबाट अतिरिक्त रकम उठाइएको भन्ने सूचनापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट टोली गएको थियो ।
कार्यालय सहयोगी कापरको कोठाबाट २ लाख २३ हजार ८५० र धनुषाको जनकपुर उपमहानगरपालिका–१० बस्ने बिचौलिया राज किशोर भगतको साथबाट ५० हजार रुपैयाँ अख्तियारले बरामद गरेको छ ।
सो क्रममा परीक्षार्थीहरुको नाम र दर्ता नं. भएको कागजातसहित उनीहरू पक्राउ परेका हुन् ।