काठमाडौं । संसद् विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहले माइतीघर मण्डलामा धर्ना दिएको छ ।
संसद् विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको प्रचण्ड–नेपाल समूहले बुधबारदेखि माइतीघर मण्डलामा धर्ना दिन शुरू गरेको छ । आजदेखि माघ २१ गतेसम्म प्रत्येक दिन दुई घण्टा माइतीघर मण्डलामा दिइने धर्नामा संविधान सभा सदस्य, संघीय सांसद तथा प्रदेश सभा सदस्यलगायत सहभागी हुनेछन् ।
नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ पम्फा भुसालले असंवैधानिक रुपमा संसद विघटन गरी देशलाई प्रतिगमनतर्फ फर्काउने उल्टो कदम सच्याउन दबाव दिने उदेश्यले धर्ना बसेको बताइन् । धर्नामा बसेका अर्का नेता हरिबोल गजुरेलले जनताले आफ्नो प्रतिनिधिमार्फत बनाएको संविधानमाथि हस्तक्षेप भएको हुँदा आमजनता धर्नामा बस्नुपर्ने अवस्था आएको बताए ।
नेकपा प्रचण्ड–माधव समूहले संसद विघटनको विरोधमा आन्दोलनको विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । संसद विघटनको विरोधमा शनिबारबाहेक माघ २१ गतेसम्म प्रत्येक दिन २ घण्टा धर्ना बस्ने कार्यक्रम रहेको सो समूहले जनाएको छ ।
उक्त समूहले मंगलबार काठमाडौंको लैनचौरमा सिठ्ठी जुलुस निकालेर तेस्रो चरणको आन्दोलन शुरू गरेको थियो ।
उक्त समूहले यसअघि पहिलो र दोस्रो चरणका आन्दोलनका कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको दाबी गरेको छ । तेस्रो चरणको आन्दोलन झनै सशक्त र प्रभावकारी हुने अपेक्षा उक्त समूहको छ ।
उक्त समूहले सोमबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै तेस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
यस्ता छन् तेस्रो चरणका आन्दोलनका कार्यक्रमः
माघ १४ देखि २१ गतेसम्मः माइतीघर मण्डलामा संविधान सभा सदस्य, संघीय सांसद तथा प्रदेश सभा सदस्यसहित धर्ना कार्यक्रम ।
माघ १६ गतेः जुलुससहित श्रद्धाञ्जली कार्यक्रम दिउँसो १ बजे शान्तिबाटिकाबाट लैनचौर प्रस्थान ।
माघ १५ गतेः बुटवलमा विरोध सभा र प्रदर्शन ।
माघ १६ गतेः विराटनगरमा विरोध सभा र प्रदर्शन ।
माघ १७ गतेः धनगढीमा विरोध सभा र प्रदर्शन ।
माघ २२ गतेः काठमाडौंमा युवा र्याली ।
माघ २६ गतेः देशव्यापी मसाल जुलुस ।
माघ २८ गतेः काठमाडौंमा विरोध प्रदर्शन सभा ।
प्रदेशका राजधानीमा विशिष्ट प्रकारका ठोस कार्यक्रम निरन्तरता दिने ।
समाजका विभिन्न तह र तप्कासँग अन्तरक्रिया कार्यक्रम ।