प्रधानमन्त्री कपः बागमतीलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । बागमती प्रदेशलाई हराउँदै त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा बागमतीलाई ९४ रनले हराउँदै आर्मी पीएम कपको फाइनलमा प्रवेश गरेको हो ।

सेमिफाइनलमा आर्मीले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याएको बागमतीले ४०.२ ओभरमा सबै विकेट गुमाएर १ सय ३५ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान ज्ञानेन्द्र मल्लले ४७, नन्दन यादवले अविजित २२, बिपिन आचार्यले २३, आदिल खानले १० रन बनाए ।

बलिङमा जितेन्द्र मुखियाले चार, बिक्रम सोब, सुशान भारीले तीन–तीन विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३० रन बनायो ।

उसका लागि राजेश पुलामीले उत्कृष्ट इनिङ्स खेले । उनले ९१ बलमा दुई छक्का र चार चौकासहित ६५ रन बनाए । त्यस्तै, भीम सार्कीले ४०, बिक्रम सोबले ३५, लोकेश बमले २३, कप्तान विनोद भण्डारीले १० र स्पिनर सुशान भारीले अविजित १७ रनको योगदान दिए ।

बलिङमा गौतम केसीले पाँच, बिपिन आचार्य, तिलक भण्डारी, नन्दन यादव र रामनरेश गिरीले एक–एक विकेट लिए ।

आजको जिसँगै आर्मी क्लबले उपाधिका लागि एपीएफसँग खेल्ने मौका पाएको छ । उपाधिका लागि शनिबार आर्मी र एपीएफ खेल्नेछन् ।

कमेन्ट गर्नुहोस्