सुरक्षित पत्रकारिताको आधार पेशागत मर्यादा

पत्रकारिताका विद्धानहरुले पत्रकारिताको परिभाषा आ–आफ्नै किसिमले गरेका छन् । तीमध्ये  पत्रकारिताका सिद्धान्तकार मानिने डेबिड वेनराईट भन्नुहुन्छ, ‘पत्रकारिता संचार हो । दिनभरिका घटनाहरुबारे मानवजिज्ञासा पूरा गर्न शब्द आवाज र चित्रमा छानिएको र संचार प्रविधिले प्रशोधित गरिएको सामग्री हो ।’ अर्का विद्धान डब्लु.टि स्टिडको भनाइमा पत्रकारिता कला वृत्ति र जनसेवा हो ।

महान लेनिनको भनाइमा पत्रकारिता प्रचार र संघर्षको साधन मात्रै होइन, संगठन गर्ने माध्यम पनि हो । पत्रकारिताका अर्का विद्धान सि.जी. मुलरका अनुसार सामाजिक ज्ञानको व्यवसायलाई पत्रकारिता भनिन्छ । यो व्यवासायमा आवश्यक तथ्यहरुको प्राप्ति, सजकतापुर्वक त्यसको मुल्यांकन र त्यसको उचित प्रस्तुति हो । सबै परिभाषाहरुको मिलन बिन्दु भन्नुपर्दा पत्रकारिता समसामयिक घटनाहरुको यर्थाथ संकलन तथा आम जनताको पहुँचको निरन्तर संप्रेषण गर्नु हो ।

नेपालको पत्रकारिताको ईतिहासले ११ दशक पार गरिसकेको छ । तत्कालीन राणा शासनदेखि नेपालको वैधानिक कानुनले समेत प्रेस स्वतन्त्रताको वकालत गरे पनि व्यवहारिकतामा प्रेस स्वतन्त्रता बिषय बस्तुमा अहिलेसम्म आउँदा धेरै कमजोर देखिन्छ भने वैधानिकअनुसारले प्रेसको स्थितिलाई बुझ्ने हो भने प्रत्येक दिन यसको अवस्था नाजुक बन्दै गएको अवास्था छ । समाचार लेखेकै भरमा पत्रकारले धम्की खानुपर्ने, अपमानित र मारिनुपर्नेसम्मका घटनाका कुराहरू तपाईं हाम्रा माझ तथ्य सहित आइरहेका छन् ।

इतिहास हेर्ने हो भने भने तत्कालीन पन्चायती शासनमा पनि पञ्चायती शासनविरुद्ध कलम चलाउने पत्रकार तथा संचारकर्मीहरुलाई यातना दिने, थुन्ने काम राज्यबाट हुने गरेका थिए । अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि पनि समय समयमा प्रेसमाथि अङ्कुश लगाउने काम भैरहेको छ । तत्कालीन तत्कालीन माओवादीले २०५२ फागुन १ गते बाट भुमिगत भएपछि धेरै पत्रकार तथा संचारकर्मीहरुले यातना जेल तथा मारिनुपर्यो ।

नेपाल पत्रकार महासंघको त्यतिबेलाको प्रतिवेदनअनुसार २४ जना पत्रकारको त्यसबेलाको राज्य व्यवस्थाको तर्फबाट हत्या गरिएको थियो । पत्रकारका लागि स्वतन्त्रता आफ्नो हतियार हो भने जनताको लागि पनि त्यही हो । जहाँ स्वतन्त्रता हुँदैन, त्यहाँ पत्रकारिताको माध्यमबाट जनताको सत्यकुरा बाहिर ल्याउन सकिँदैन । संसारमा जे जति परिवर्तनका लागि युद्ध, बिद्रोह र आन्दोलन भएका छन्, त्यहाँ पत्रकारले पनि आन्दोलनको पक्षमा कलम चलाएको पाउछौं। केही स्वार्थीको परिणामस्वरूप पत्रकारितामा केही समस्या पक्कै नभएका होइनन् ।

समाचारको लागि कतिसम्म दुरी बढाउनुपर्छ भन्ने कुरालाई विचार गरिएन भने अवश्य पनि पत्रकारलाई संकट आउन सक्छ । पत्रकारले पनि आफ्नो धर्म निभाउनु पर्दछ । तर, त्यो ईमान र धर्मलाई बिर्सियो भने दुर्घटना हुन सक्दछ । यसको मतलब केही खराब पत्रकारको नियतले पत्रकारिता क्षेत्रलाई नै नराम्रो गर्ने प्रयास गर्नुहुँदैन । कसैको प्रलोभनमा नपरेर स्वच्छ ढंगले सत्य तथ्य तथा यर्थथालाई बाहिर जनमानसमा ल्याउनु र त्यसको बदलामा धम्की खानु पत्रकारहरुको निरन्तर भैरहेको छ ।

पेशागत मर्यादालाई ख्याल गर्न जरुरी छ । जसले गर्दा केही मात्रामा भए पनि पत्रकारहरु सुरक्षित हुन सक्छन् । सरकारले पत्रकारहरुको सुरक्षाको लागि निति, कार्यनीति र रणनीति प्रभावकारी तरिकाले लागू गर्न आवश्यक छ ।

कमेन्ट गर्नुहोस्