काठमाडौं । अविश्वास प्रस्तावमाथि छलफल हुने एजेण्डा रहेको बाग्मती प्रदेशको बैठक सारिएको भन्दै नेकपा (प्रचण्ड–माधव समूह) ले हेटौंडास्थित प्रदेशसभा सचिवालय अगाडि नाराबाजी गरेको छ ।
आज बस्ने तय भएको बैठक अकस्मात र विनाकारण स्थगित गरिएको विरोधमा प्रचण्ड–माधव समूहका प्रदेशसभा सदस्यहरुले नाराबाजी गरेका हुन् । उनीहरूले ‘अल्पमतको सरकार राजीनामा दे’, ‘प्रदेश सभा सुचारू गर’, ‘प्रदेश सभा रोक्न पाइँदैन’, ‘अल्पमतको सरकार चाहिँदैन’ लगायतका नारा लगाएका थिए ।
नेकपाका सांसद महर्जनले नेपाली कांग्रेसको समर्थनमा नारा जुलुस गरिएको बताए ।
आज सोमबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक ‘विशेष कारण’ ले स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको थियो । यद्यपी विशेष कारण के हो भन्ने विषयमा भने सचिवालयले कुनै कुरा उल्लेख गरेको छैन ।
आज स्थगित भएको प्रदेशसभाको अर्को बैठक आगामी फागुन ५ गते दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिएका छन् ।
बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपा प्रचण्ड–माधव पक्षले प्रदेशसभामा दर्ता गराएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने गरी बैठक बोलाइएको भए पनि आइतबार राति स्थगित भएको सूचना प्रदेशसभा टाँसिएको थियो ।
पुस १० गते प्रदेशसभामा दर्ता भएको मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव माघ ९ गतेको प्रदेशसभा बैठकमा टेबुल गरिएको थियो । अविश्वासको प्रस्तावको विषयमा मतविभाजनका लागि कार्यविधि निर्माण गर्न कार्यदल गठन गरिएको छ । उक्त कार्यदलले प्रतिवेदन नबुझाएका कारण बैठक स्थगित गरिएको सचिवालयले जनाएको छ ।