काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहका शीर्ष नेताहरु आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पुगेका छन् । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आयोगको कार्यालय पुगेका हुन् ।
सोमबार बसेको सो समूहको केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय नेकपाको प्रचण्ड–माधव समूहले गरेको छ । राजनीतिक दलसम्बन्धीको दफा ४४ आधार मानेर आफूहरुले पार्टीको आधिकारिताको दाबी गरेको प्रचण्ड–नेपाल समूहका लीलामणि पोखरेलले जानकारी दिए । निर्वाचन आयोगले पुरानो ४ सय ४१ केन्द्रीय सदस्यलाई आधिकारिक मानेको भएकाले पुनः २७५ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित आफूहरूले दाबी पेश गरेको उनले बताए ।
बहुमत केन्द्रीय सदस्यहरु आफूसँगै रहेको भन्दै प्रचण्ड-माधव समूहले आफूहरुले नै आधिकारिकता पाउनुपर्ने दाबी गर्दै आएको छ ।