काठमाडौं : अध्यागमन विभागले विदेशमा भिजिट भिसामा जाने नेपालीले भिसाको दुरुपयोग गरेको ठहर गर्दै अध्यागमन कार्यविधि संशोधनको प्रस्ताव मन्त्रालयमा पठाएको छ ।
अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले महिलाहरू एक्लै विदेश जाँदा पारिवारिक सहमति र वडा कार्यालयको सिफारिस अनिवार्य चाहिनेलगायत केही नयाँ प्रावधान ल्याउन प्रस्ताव गृह मन्त्रालयमा पठाइएको जानकारी दिए ।
साथै, उक्त प्रस्तावमा विदेश जानेहरूको हकमा १५ लाखको बीमा र १ हजार डलर अनिवार्य लिएर जानुपर्ने प्रस्ताव गरिएको उनले जानकारी दिए ।
विभागका अनुसार जोखिममा देखिने ४० बर्ष मुनिका महिलाको लागि विदेशमा गएर समस्यामा नपरुन भनेर नयाँ केही नियम ल्याउन खोजिएको हो । यो नियम सवै देशमा लागू नभएर जोखिम मुलुकमा लागू गर्न खोजिएको विभागले जनाएको छ ।
साथै, पटकपटक विदेश जाने र आउने गरेका महिलाको हकमा पारिवारिक सहमति र वडा कार्यालयको सिफारिस आवश्क नपर्ने समेत महानिर्देशक केसीले स्पष्ट पारे । विभागले सरोकारवाला निकायसँग छलफल गरी उक्त केही नयाँ नियम संशोधनका लागि विभागले एक साताअघि मन्त्रालयमा प्रस्ताव पठाएको हो ।
भिजिट भिसामा गएर अलपत्र पर्ने क्रम बढिरहेकोले यसलाई कसरी रोक्न सकिन्छ भनेर विभागले नयाँ नियम ल्याउन खोजिएको उनले बताए । भिजिट भिसामा जाने नेपालीको हकमा अब थपिने कार्यविधि संशोधनमा भिजिट अवधिभरको लागि बीमा, घुम्न जानेको उद्देश्य, घुम्न जान सक्ने आधार क्षमता खुल्ने खालका आधार आवश्यक पर्नेछ ।
कुनै संघ, संस्था वा व्यक्तिले दुरुपयोग गरेर लैजानेलाई पनि निगरानी बढाएर भागीदार बनाउने विभाग भनाइ छ । घुम्न जाने व्यक्तिको बीमा अनिवार्य गरियो भने पनि कुनै प्रकोप आए वा अलपत्र परे बीमा बापत केही राहत मिल्ने अध्यागमन विभागको ठहर छ । गोरखापत्र अनलाइनबाट