प्रदेश २ मा ३५६ किलोमिटर पक्की सडक निर्माण

धनुषा: प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा ३ सय ५६ किलोमिटर पक्की सडकको निर्माण कार्य सम्पन्न गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज आयोजित वार्षिक प्रगतिसम्बन्धी पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

प्रदेशमा कालोपत्र सडक ५०.९५ किलोमिटर, पक्की सडक ढलान ७४.९० किलोमिटर र ग्राभेल सडक १७०.१७ किलोमिटर निर्माण सम्पन्न भएको जनाइएको छ । सोही क्रममा ३० वटा पुल निर्माणका क्रममा रहेको, ५.५४ किलोमिटर नाला, १४ वटा कल्भर्ट र ५९.८१ किलोमिटर नयाँ कच्ची सडक निर्माणकार्य सम्पन्न भएको छ ।

नीति तथा कार्यक्रममा रहेको १० वटा झोलुङ्गे पुलमध्ये तीनवटाको निर्माण कार्य सम्पन्न भएको छ । सिँचाइतर्फ १६५ वटा नहर प्रणालीको मर्मतसम्भार गरी पानी सञ्चालन, प्रदेशका आठवटै जिल्लामा २ क्लस्टर सिँचाइअन्तर्गत पावर ड्रिल टयुबवेल निर्माणबाट प्रदेशका १६ हजार खेतीयोग्य जमीनमा सिँचाइ सुविधा प्रदान गरिने योजनाको शुरूआत गरिएको छ । सो अवधिमा २४० वटा डिप टयुबवेल तथा ३३ वटा पावर ड्रिल टयुबवेल निर्माण, प्रदेशका पाँच हजार ४३० हेक्टर थप जग्गाको सिञ्चित क्षेत्रफलमा वृद्धि भएको बताइएको छ । नदी कटान र डुबानबाट एक हजार ५०० हेक्टर खेतीयोग्य जग्गा संरक्षण र २० वटा जोखिमयुक्त बस्तीलाई संरक्षण गरिएको छ ।

खानेपानीतर्फ २० वटा नयाँ खानेपानी योजनाको शुरूआत, ६५ किलोमिटर पाइपलाइन विस्तार गरिएको छ । यस अवधिमा २६ धर्मशाला, नौ दलित छात्रावास र आठवटा ज्येष्ठ नागरिक आवास निर्माण सम्पन्न भएको बताइएको छ । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले यी उपलब्धि सार्वजनिक गर्दै जनता आवासतर्फ चार हजार ६५९ घर निर्माणको सम्झौता भएकोमा हालसम्म दुई हजार १०१ घर निर्माण भई हस्तान्तरण भइसकेको बताए ।

कमेन्ट गर्नुहोस्