काठमाडौं : नेपाली कांग्रेसले फागुन ५ गते केन्द्रीय समिति बैठक डाकेको छ । कांग्रेसले फागुन ५ गते दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बोलाएको हो ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिको भेला बोलाउने तयारी गरिरहेका बेला सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक बोलाएका हुन् ।
पौडेलले केन्द्रीय समिति बैठक बोलाउन माग गरे पनि सभापति देउवाले चासो नदिएपछि फागुन ५ गते केन्द्रीय कार्यालय सानेपामै जिल्ला सभापतिको भेला बोलाइएको थियो । जिल्ला सभापतिहरूलाई टेलिफोनमार्फत जानकारी गराइसकिएको थियो ।
५ गते केन्द्रीय समिति बैठक बोलाइए पनि पौडेल पक्षले भेला नरोक्ने जनाएको छ । फागुन ४ गते जिल्ला सभापतिसँग जुम मिटिङमार्फत धारणा बुझ्ने र सभापतिहरूको धारणा लिएर केन्द्रीय समिति बैठकमा जाने पौडेलको तयारी छ ।
बाह्रखरीसँग कुरा गर्दै सभापति देउवानिकट सह-महामन्त्री प्रकाशशरण महतले फागुन १२/१३ मा मात्र बैठक बस्ने बताएका थिए ।
फागुन ७ देखि १० सम्म काठमाडौं मा १४औं महाधिवेशन गर्ने गत वर्षको पुष ११ गतेको केन्द्रिय समिति बैठकबाट घोषणा भएको थियो । आगामी १९ देखि कांग्रेसको वर्तमान केन्द्रीय समितिको कार्यकाल ५ वर्ष पूरा हुनेछ ।