अष्ट्रेलियाको संसद भवनभित्र रक्षामन्त्रीको कोठामा बलात्कार भएको खुलासा, प्रधानमन्त्रीले मागे माफी

काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले संसदमा काम गर्ने एक महिलासँग माफी मागेका छन् ।

यी महिलाले संसद भवनमा उनीसँग बलात्कार भएको बताएकी थिइन ।

एक टेलिभिजनलाई अन्र्तवार्ता दिँदै ती महिलाले संसद भवनभित्र रहेको रक्षा मन्त्री लिण्डा रेनोल्ड्सको कार्यालयमा बलात्कार भएको बताएकी थिइन ।

२६ वर्षी ती महिलाले उक्त आरोप लगाएपछि प्रधानमन्त्री मोरिसन ती महिलासँग माफी माग्दै जाँचको आदेश दिएका छन् । दुई छोरीका बुवा समेत रहेका प्रधामन्त्रीले संसदभित्र सुरक्षित वातावरण कायम राख्न समेत निर्देशन दिएका छन् ।

ती महिलाले वर्ष २०१९ मा मोरिसनकै सत्ताधारी लिबरल पार्टीका सिनियर कार्यकर्ताले बलात्कार गरेको बताएकी थिइन । “मैले अप्रिल २०१९ मा नै यसबारेमा प्रहरीसँग कुरा गरेकी थिएँ तर त्यतिबेला यो मुद्दालाई सार्वजनिकरुपमा व्यक्त गर्दा जागिर जाने चिन्ता भएकाले काम गर्ने कार्यालयमा नै उजुरी दिन उपयुक्त लाग्यो ।” मिडियासँग कुराकानी गर्दै उनले भनेकी छिन ।

स्थानीय महिलाले महिलाको यो भनाईको पुष्टि गर्दै प्रहरीले घटना दर्ता नगरिएको बरु कार्यालयमा नै आधिकारिकरुपमा यसको गुनासो गर्ने निर्णय लिएको बताए ।

महिलाले भने रक्षामन्त्री कार्यालयलाई यो घटनाको सबै जानकारी दिएपनि केही पहल नभएको बताइन । आफुसँग दुष्कर्म भएकै कोठामा उक्त विषयमा बैठक भएपनि त्यसपछि कुनै कार्वाही अघि नबढेको उनको आरोप छ ।

प्रधानमन्त्रीले यो विषयमा जाँचको आदेश दिएका छन् ।

“पहिलो कुरा त यस्तो हुनु हुँदैनथ्यो । तर जे भयो, त्यसका लागि म माफी माग्छु ।” प्रधानमन्त्रीले भने, “ हामीलाई महिलाहरु कार्यक्षेत्रमा सुरक्षित रहुन भन्ने कुरा सुनिश्चित गर्नु जरुरी छ । दुखको कुरा भनौं, अहिलेको समयमा पनि महिलाहरुले यो सबै सहनुपरेको छ ।”

तस्वीरः एबिसिबाट

 

कमेन्ट गर्नुहोस्