वलिउडमा अर्को आत्महत्याः ‘एमएस धोनी’ फिल्ममा सुशान्त सिंहका को–एक्टर सन्दीपले पनि गरे सुसाइड, पत्नीमाथि लगाए गम्भीर आरोप

मुम्बई । सुशान्त सिंह राजपूतको आत्महत्याको घटना रहस्यमै रहेको बेला उनीसँग अभिनय गरेका एक अर्का कलाकारले समेत आत्महत्या गरेका छन् ।

एमएस धोनीः द अनटोल्ड स्टोरी चलचित्रमा सुशान्त सिंह राजपूतका सरदार साथीको भूमिकामा देखिएका अभिनेता सन्दीप नाहरले मगंगलबार मुम्बईको गोरेगाउँमा आत्महत्या गरेका हुन ।

हिजो साँझमात्रै उनले सामाजिक सञ्जालमा नौ मिनेटको भिडियो र सुसाइड नोट पोष्ट गरेका थिए । यसमा उनले श्रीमतीमाथि गम्भीर आरोप लगाएका छन् । नाहरले आत्महत्या कसरी गरे भन्ने खुल्न सकेको छैन । सन्दीपकी श्रीमती कञ्चनका अनुसार, उनको शरीर झुण्डिएको अवस्थामा थियो । मृत शरीरलाई पोष्टमार्टमका लागि पठाइएको छ ।

सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा सन्दीपले अब बाँच्ने इच्छा नरहेको बताएका छन् । ‘जीवनमा धेरै सुखदुख देखेँ, हरेकपटक प्रोब्लम फेस गरे तर आज जुन तनावबाट म गुज्रिरहेको छु, त्यो सहनसीमा भन्दा बाहिर छ । मलाई थाहा छ, आत्महत्या गर्नु कायरता हो । मलाई पनि बाँच्नु थियो, तर बाँचेर पनि के फाइदा, शान्ति र सेल्फ रेस्पेक्ट हुँदैन भने ” उनले भनेका छन् ।

सन्दीपले अक्षयकुमारको फिल्म केसरी, खानदानी शफाखाना, शुक्राणु र कहने को हमसफल हैं नामक वेभ सिरिजमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

 

कमेन्ट गर्नुहोस्