काठमाडौंः १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पौडितर्फ नेपाललाई ४ स्वर्ण पदक दिलाएकी गौरिका सिंह तथा करातेमा २ स्वर्ण दिलाएका मन्देकाजी श्रेष्ठ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपिए) ले प्रदान गर्ने अवार्डका सर्बोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
भक्तपुरको मध्यपुर ठिमीमा आयोजना भएको कार्यक्रममा एनएनआईपिएले सागमा गरेको प्रर्दशनको आधारमा गौरिका र मन्देकाजीलाई सर्वोत्कृष्ट खेलाडी घोषणा गरेको हो । गौरिका र मन्देले ग्लोबल आइएमई बैंकबाट प्रायोजित समान १ लाख रुपैयाँ प्राप्त गरे ।
यस्तै एनएनआईपिएले तेक्वान्दोकी आयशा शाक्य र फुटबलका सुजल श्रेष्ठलाई एनएनआईपिए स्पोर्टस अवार्ड अन्तर्गत प्रतिभावान खेलाडीको अवार्ड प्रदान गर्दा गल्फका सुवास तामाङ र कुस्तीकी संगिता धामी एनएनआइपिए स्पोर्टस अवार्ड अन्तर्गत उदयीमान खेलाडी चुनिएर पुरस्कार थापे । आयशा र सुजलले युएसए एभरेष्ट तेक्वान्दोले प्रोजना गरेको समान ५० हजार रुपैयाँ प्राप्त गरे । पहिलो पटक समावेश गरिएको विधामा चुनिएका उदीयमान खेलाडी सुवास र संगिताले स्काई फिटबाट प्रायोजित समान ५० हजार रुपैयाँ प्राप्त गरे ।