नयाँदिल्ली, पूर्व प्रधानमन्त्री तथा जसपा संयोजक बाबुराम भट्टराईको उपचार आजदेखि शुरु हुने भएको छ ।
आइतबारका दिन भट्टराई श्रीमती हिसिला यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डेसँगै दिल्ली पुगेका हुन ।
बाबुराम दिल्लीस्थित नेपाली दूतावासमा बसेका छन् ।
भट्टराईको सोमबारदेखि दिल्लीको वसन्तकुञ्जस्थित इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइसेन्समा उपचार हुने प्रेस सल्लाहकार पाण्डेले जानकारी दिए । सोमबार दिउँसो वरिष्ठ चिकित्सक विक्रम भाटियाले भट्टराईको परीक्षण गर्नेछन् ।
भट्टराईले ललितपुरको निदान अस्पतालमा उपचार गराउँदै आएका थिए । उपचारकै क्रममा न्युरो–इन्डोक्राइनमा ट्युमर पलाएको आशंका गरिएको थियो । नेपालमा त्यो ट्युमर घातक भए÷नभएको नखुलेपछि निदानका डा. नीरज जोशीले नै भट्टराईलाई चाँडै दिल्ली जान सुझाएको पाण्डेले बताए ।
यसैबीच भट्टराईले उपचारका लागि दिल्लीमा आउनुपरेकामा आफू लज्जित र दुःखित रहेको बताएका छन् । ‘नेपाली दूतावासको अतिथि कक्षमा बसेर घोत्लिँदै गर्दा आफू लज्जितरदुःखित भएछु, २१ औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु । सामान्य नागरिकको के होला ?’ उनले ट्वीट गरेका थिए ।
के हो बाबुराममा लागेको रोग ?
बाबुराम भट्टराईको शरीरमा न्युरो–इन्डोक्राइनमा ट्युमर देखिएको हो । यो ट्यूमर घातक पनि हुनसक्छ ।
इण्डोक्राइन प्रणाली भनेको हाम्रो शरीरमा हर्मोन उत्पादन गर्ने प्रणाली हो । हर्मोन भनेका एक किसिमका रसायन हुन । जुन यिनै इण्डोक्राइन प्रणालीसँग सम्बन्धित कोषबाट उत्पादन भएर रगतसँगै शरीरका अन्य अङ्गमा पुग्ने गर्दछन् ।
यसरी हर्मोन नै उत्पादन गर्ने कोषिकाहरुको डिएनएमा समस्या आउँदा यसले कोषलाई म्यूटेशन गर्न थालेपछि त्यसले ट्यूमरको रुप लिन जान्छ । यी ट्युमरहरु शरीरको जुनसुकै भागमा पलाउन सक्छन् । तर खासगरी आन्द्रा, आमाशय, पित्तथैली, फोक्सो आदिमा यी देखिनसक्छन् ।
यी ट्युमरहरु कुनै चाहिँ शरीरको अन्य भागमा फैलिने हुन्छन् । त्यस्ता ट्युमरहरु क्यान्सर हुनसक्छन् । तर शरीरमा नफैलिने तर त्यहीँ मात्रै बढ्ने प्रकृतिको भएको खण्डमा यी ट्युमरहरु सजिलै निकाल्न सकिन्छ । या जुन अंगमा पलाएको छ, त्यो अंगसँगै झिक्न सकिन्छ ।
हर्मोन उत्पादन गर्ने कोषमा नै ट्युमर पलाउने हुँदा त्यस्तो ट्युमर पलाएको कोषले हर्मोन उत्पादन गरिरहेको छ कि छैन भन्ने कुराले यो ट्युमर कति घातक छ भन्ने कुरा निर्धारण गर्दछ । जस्तो कि ट्युमर पलाएको कोषले नै हर्मोन समेत उत्पादन गरिरहेको अवस्थामा त्यो शरीरका अन्य भागमा फैलिन सक्छ ।
यो रोग किन हुन्छ भन्ने कुरा अहिलेसम्म ठोसरुपमा पत्ता लाग्न सकेको छैन । तर कतिपयले यसलाई आनवंशिक पनि भनेका हुन्छ ।
ट्युमर कुन स्थानमा पलाएको छ, यो फैलिने प्रकृतिको छ कि छैन ? जस्ता कुराले यसको सफल उपचार हुने या नहुने कुरा निर्धारण गर्दछ ।
विश्वमा यस्तो ट्युमर घातक नभएका कैयन बिरामी निको भएका छन् । भारतका अभिनेता इरफान खानलाई पनि यही ट्युमर भएको थियो । उनले लण्डनमा उपचार गरेपनि निको भने हुन सकेन ।