काठमाडौं : क्रिकेट श्रीलंकाको निर्देशकमा टम मुडी नियुक्त हुने भएका छन् । उनलाई क्रिकेट श्रीलङ्काले तीन वर्षका लागि अनुबन्ध गर्न लागेको हो ।
क्रिकेट श्रीलङ्काले हालै आफ्नो विधान संशोधन गर्दै निर्देशकको पद सिर्जना गरेको छ । मुडीले अष्ट्रेलिया, इंग्ल्याण्ड र भारतमा क्रिकेटको बनावटको अनुभवलाई श्रीलङ्काली क्रिकेटको प्रगतिमा उतार्ने विश्वास लिइएको छ ।
श्रीलङ्काका पूर्वक्रिकेटर समेत रहेका अरविन्दा डी सिल्भाले मुडीको अनुभव श्रीलङ्काली क्रिकेटको स्तर उकास्न महत्वपूर्ण हुने बताए ।
डी सिल्भाले श्रीलङ्काको खेलकूद मन्त्रालय मातहातको प्राविधिक समितिको नेतृत्व गरेका छन् । उक्त समितिमा रोशन महानामा, मुथैया मुरलीथरण र कुमार संगाकारा समेत छन् । चारै जना सम्मिलित टोलीले मुडी नियुक्तिको सिफारिस गरेको छ ।
टम मुडी हाल आईपीएलमा सनराइजर्स हैदराबाद फ्रेञ्चाइजको निर्देशकको भूमिकामा छन् । श्रीलङ्काली क्रिकेट बोर्डले निर्णय गरेलगत्तै उनी निर्देशकको रूपमा नियुक्त हुने छन् । उनलाई तीन वर्षे कार्यकालको लागि अनुबन्ध गरिने बताइएको छ ।