खोपको दोस्रो मात्रा ८ हप्तादेखि १२ हप्ताको बीचमा दिइने

काठमाडौंः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको खोपको दोस्रो मात्रा ८ हप्तादेखि १२ हप्ताको बीचमा दिने निर्णय गरेको छ ।

कोभिड-१९ खोप प्राविधिक सल्लाहकार समितिले पहिलो खोप लगाएको ८ हप्तादेखि १२ हप्ताको अवधिमा दोस्रो खोप दिन मन्त्रालयलाई सुझाव दिएको थियो ।

‘हामीले प्रस्तावलाई स्वीकार गरेका छौं, दोस्रो मात्रा लगाउने बेलामा सूचना जारी गर्छौं’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने ।

याे पनि पढ्नुस  आजसम्म विश्वभर २० करोडले लगाए कोरोनाविरुद्धको खोप

यसअघि मन्त्रालयले खोपको पहिलो मात्रा लगाएको २८ दिनपछि दोस्रो मात्रा दिने बताएको थियो । स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल कल्याण तथा खोप महाशाखा प्रमुख डा. झलक गौतमका अनुसार विश्व स्वास्थ्य संगठनको खोपसम्बन्धी विज्ञहरुको समिति (सेज) को निर्णयको आधारमा उक्त प्रस्ताव गरिएको थियो । सेजले पहिलो खोप लगाएको ८ देखि १२ हप्ताको अवधिमा दोस्रो मात्रा लगाउँदा प्रभावकारी हुने निर्णय गरेको छ ।

याे पनि पढ्नुस  बहरानइनले पनि दियो कोरोनाको खोप प्रयोग गर्न स्विकृति

खोपको दोस्रो मात्रा जति ढिला लगायो उति नै शरीरमा एन्टिबडी प्रभावकारी हुने कोभिड-१९ खोप प्राविधिक सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेती बताउँछन् । ‘हामीले २८ दिनपछि दोस्रो मात्रा लगाउनुपर्छ भन्दा सेजले यस्तो निर्णय गरेको थिएन, पछिल्लो परिमार्जित निर्णय अनुसार हामीले मन्त्रालयलाई यस्तो सिफारिस गरेका हौं’ डा. उप्रेतीले भने ।

याे पनि पढ्नुस  शिक्षक कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न शिक्षा मन्त्रालयको आग्रह

खोप विज्ञसमेत रहेका डा. उप्रेतीका अनुसार खोपको पहिलो मात्रा लगाउँदा शरीरमा देखिने प्रतिअसरहरु दोस्रो मात्रा लगाउँदा कम देखिन्छ । त्यसैगरी कोभिसिल्ड खोपले कोरोनाका कारण हुने मृत्युदर र जटिलतालाई घटाउनेसमेत उनले बताए । उनले भने, ‘खोप लिइसकेका व्यक्तिलाई संक्रमण भएर गम्भीर असर नगरे पनि सार्ने सम्भावना भएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ ।’

कमेन्ट गर्नुहोस्