चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री इश्वर पोख्रेलले अहिलेको अवस्थामा ताजा जनादेशमा जानु नै सबैको हितमा हुने बताएका छन् ।
प्रेस संगठन नेपाल, चितवन शाखाले आज (मंगलवार) भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री पोख्रेलले ताजा जनादेशमा जानु नै उपयुक्त विकल्प भएको बताए ।
‘बैशाख १७ र २७ गते निर्वाचन हुँदैछ, यो निर्वाचन ताजा जनादेशका लागि हुँदैछ’, उनले भने, ‘ताजा जनादेशमा जानुनै हामी सबैको हित हुन्छ । यसले नेपाली जनताले आफुले इच्छाएको पार्टी र प्रतिनिधिलाई मतदान गरेर बिजयी बनाउने अवसर आएको छ ।’
ताजा जनादेशमा जाने बिषय असंवैधानिक र अलोकतान्त्रिक नहुने भन्दैउनले भने, ‘ताजा जनादेशमा जाने कुरा असंवैधानिक र अलोकतान्त्रिक कसरी हुन्छ ? चुनाव टार्ने चुनाव हुन नदिने कोशिसहरुलाई पो त्यसरी भन्न सकिन्छ ।’ उनले चुनावमा सबै दल सहभागी हुने पनि बताए ।
उनले रानीजितिक स्थायीत्व र विकासका लागि नै हिजोको दिन पार्टी एकता गरिएको भएता पनि पुनः संकट आइपरेकोले अहिले ताजा निर्वाचन मार्फत ताजा जनादेशमा जाने निर्णय भएको बताए ।
उनले निर्वाचनका लागि निर्वाचन आयोग र सुरक्षा निकायहरुले पनि तयारी गरिरहेको जानकारी दिए ।
सो क्रममा बोल्दै पोख्रेलले प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाले नै सुर्य चुनाव चिन्ह पाउने बताए । निर्वाचन आयोगले सुर्य चुनाव चिन्ह खारेज गर्ने कुरा छ नि भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘केपी ओलीले नेतृत्व गरेको नेकपाले नपाएर अरुले सुर्य चिन्ह पाउँछन् भनेर हामी विश्वास गर्दनौं ।’
उपप्रधानमन्त्री पोख्रेलले अन्तरविरोध र ढाडमा टेकेर टाउकोमा हान्ने प्रवृत्ति कारण नै अहिलेको अवस्था सृजना भएको उनको भनाई थियो ।