काठमाडौं । फेसबुकले अस्ट्रेलियामा आफ्ना प्रयोगकर्ताले फेरि समाचार सामग्री हेर्न पाउने घोषणा गरेको छ।
एउटा प्रस्तावित कानुनको विरोधमा गत बिहीवारदेखि फेसबुकले आफ्नो मञ्चमा अस्ट्रेलियाबाट समाचार हेर्न नमिल्ने बनाइदिएको थियो।
उक्त कानुनमा गुगल र फेसबुकले समाचार प्रयोग गरेबापत प्रकाशकलाई शुल्क तिर्नुपर्ने प्रावधान राखिएको थियो।
अस्ट्रेलियाका एक वरिष्ठ अधिकारीले फेसबुकमा न्यूज पेजहरू “आगामी दिनमा” फेरि खुल्ने बताएका छन्। उनका अनुसार त्यसका लागि कानुनमा संशोधन गरिनेछ।
ठूला प्रविधि कम्पनी र समाचार उत्पादन गर्ने संस्थाबीच समाचार सामग्रीको मूल्यबारे “न्यायोचित” संवाद होस् भन्ने आफ्नो कानुनको उद्देश्य भएको अस्ट्रेलिया सरकारले जनाएको छ।
विश्वभरि नै चासोपूर्वक हेरिएको नियमनसम्बन्धी यो विषयलाई फेसबुक र गुगलले विरोध गरेका थिए। फेसबुकले अस्ट्रेलिया सरकारसँग भएका छलफलहरूबाट आफू ढुक्क भएको मङ्गलवार जनाएको छ।