काममाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष प्रचण्डको कदम सही भएको बताएका छन् । साथै, अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीकाे कदम गतल सावित भएको उनको दाबी छ ।
न्युज एजेन्सी नेपाल एनएएनसँग कुरा गर्दै गौतमले भनेका छन्, ‘जसले मैले जितेको छु भनेर भन्नुभएको छ उहाँबाट शुरू हुनुपर्ने हो । हिजो प्रचण्डले विभिन्न मिडियामा बोल्नुभएको प्रतिक्रिया मैले सुनेँ । उहाँले चाल्नुभएको कदम सही सावित भएको छ केपी ओलीले चाल्नुभएको कदम गलत सावित भएको छ । र त्यो असंवैधानिक छ भनेर भन्ने छ ।’
यस्तो अवस्थामा पुनः पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने उनले बताए । ‘उहाँले भन्नुपर्ने हो । पराजित भएकोले भनेर त अरुले मान्दैनन् । त्यसैले जसले आफूलाई म विजयी भएँ भनेर भन्छ उसले भन्ने हो । तर प्रचण्डले त्यस्तो भन्नुभएको मैले पाइनँ’, गौतमले भने ।
गौतमले प्रधानमन्त्री ओलीलाई आत्मआलोचना गर्दै राजीनामा दिन सुझाव दिए ।
उनले औपचारिक र अनौपचारिक रुपमा पार्टी एकताको निम्ति प्रयत्न गर्ने बताए । उनले भनेका छन्, ‘पहिला म दुई वटा अध्यक्षलाई नै गएर भन्छु, महासचिवलाई भन्छु पार्टी एकताको निम्ति पहल गर्नुहोस भनेर ।’
ओलीले असंवैधानिक कामलाई सर्वोच्च अदालतले त्यसलाई सुधार गरेको भन्दै गौतमले ओलीले पार्टीमा फर्केर आत्मआलोचना गर्नुपर्ने बताए ।
‘केपी ओलीले असंवैधानिक काम गर्नुभयो तर असंवैधानिक काम गरेपछि सर्वोच्च अदालतले त्यसलाई सुधार गरिसक्यो । उहाँको कदम असंवैधानिक छ भनिसकेपछि उहाँले पार्टीमा फर्केर आएर आत्मआलोचना गर्नुपर्छ । मैले यस्तो गरेँ त्यसको सजाय सर्वोच्च अदालतको संवैधानिक इजलासले दिइसकेको छ अब म आत्मआलोचना गर्दै एकीकृत पार्टीमा आउँछु र अरू पनि हामी एकीकृत पार्टीलाई अगाडि बढाउनको निम्ति लागौं भनेर उहाँले भन्नुपर्ने हो । उहाँले त्यो भनेको अहिलेसम्म मैले सुनेको छैन’, गौतमको भनाइ छ ।