काठमाडौंः जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कम्युनिष्ट असफल भएको दाबी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादतर्फ संकेत गर्दै ठाकुरले भने- ‘कम्युनिष्टले आफ्नो पार्टी र सरकारको पनि रक्षा गर्न सकेन ।’
बुधवार जसपाको भातृसंगठन राष्ट्रिय विद्यार्थी संघले काठमाडौंको कालिकास्थानमा आयोजना गरेको कार्यक्रममा बोल्दै ठाकुरले प्रतिनिधिसभाको पुनर्बहालीसँगै अस्थायी सरकार मात्र बन्ने बताए । ‘अब, जुन दिन सरकार बन्छ उसको दिनगन्ती सुरु हुन्छ’ ठाकुरले भने-‘एउटा शक्ति असफल भयो तर उसले सरकार छाड्न चाहेको छैन ।’
सशस्त्र द्वन्द गर्नेहरु देशको मन्त्री भएको बताउँदै रेशम चौधरी र मधेश आन्दोलनका आफ्ना नेता कार्यकर्तालाई जेलबाट नछाडेकोमा उनले आक्रोश व्यक्त गरेका छन् । ‘अत्याचार भएको छ’ ठाकुर भन्छन्-‘गोली चलाउनेहरूको प्रमोशन भएको छ, गोली खानेहरू जेलमा छन्, यो कहाँको न्याय हो ?’
आफ्ना साथीहरु जेलमा रहेसम्म संघर्ष जारी राख्ने जिकिर गर्दै महन्तले भने-‘विभेद रहेसम्म संघर्ष भइरहन्छ, अधिकार प्राप्तिको लागी संघर्ष जारी रहन्छ ।’