काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको चौथो पुस्तक, ‘राजनीतिसँगै राजकाज’ यही फागुनको अन्तिम सातादेखि बजारमा आउने भएको छ ।
‘कल्याणकारी लोकतन्त्रको प्रस्तावना’लाई मूल निबन्ध बनाई त्यसैको सेरोफेरोमा शिक्षा, स्वास्थ्य, परराष्ट्र, अर्थतन्त्र, सुशासन, नेतृत्व, राजनीति, राजकाज र समाजका विविध आयाममाथि विश्लेषण गरिएका ३८ ओटा स्तम्भ–निबन्धहरूको सङ्ग्रह ‘राजनीतिसँगै राजकाज’ फागुनको अन्तिम सातादेखि बजारमा आउने भएको हो ।
‘हामीले राजनीति धेरै ग¥यौं । तर राजकाजमा सधैं चुक्यौं । नेतृत्वका पञ्च गुण— इमानदारी, क्षमता, सामान्य सुझबुझ, विचार र दूरदृष्टिमा सन्तुलन नभएसम्म संसारका कुनै पनि नेतृत्व रूपान्तरणकारी हुन नसक्ने रहेछन्,’ लेखक मिश्र भन्छन्, ‘पुस्तकले ती गुणहरूको महत्त्वमाथि विशेष जोड दिएको छ।’
पुस्तकबारे राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवम् यूएनडीपी मुख्यालय, न्युयोर्कमा वरिष्ठ सल्लाहकार रहेका अर्थशास्त्री डा. स्वर्णिम वाग्ले भन्छन्, ‘नेपालको दूरदृष्टिपूर्ण रूपान्तरण तथा राजनीतिक नेतृत्वमा चासो हुने सबैले पढ्नैपर्ने पुस्तक हो, ‘राजनीतिसँगैराजकाज ।’
पुस्तकमाथि टिप्पणी गर्दै उनले लेखेका छन्, ‘पुस्तकको मूल निबन्ध ‘कल्याणकारी लोकतन्त्रको प्रस्तावना’ नवीन विचारमात्र नभएर नेपालका लागि उदार कल्याणकारी राज्य, गतिशील निजी क्षेत्र र समतामूलक समृद्धिबीचको अकाट्य सम्बन्धको गहकिलो अर्थ–राजनीतिक दस्तावेज पनि हो ।’
फाइनप्रिन्टले प्रकाशन गर्न लागेको पुस्तकबाट प्राप्त हुने सम्पूर्ण लेखकस्व (रोयल्टी) लेखक मिश्रले विवेकशील साझा पार्टीलाई प्रदान गर्ने बताएका छन् । यसअघि उनले चितवनमा विपन्न चेपाङ समुदायमा कार्यरत मितेरी फाउन्डेसनको सहयोगार्थ प्रदान गर्दै आएका छन् ।