काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जालझेल, छलकपटमात्रै बढि रहेको टिप्पणी गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध शिक्षकहरूको शनिबार ललितपुरको जावलाखेलमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीसँग फुटाउ र शासन गर भन्ने मात्रै नीति रहेको टिप्पणी गरे ।
उनले भने, ‘ओलीले जेलमा बस्दा चाणक्य नीतिमात्रै पढे क्यारे, महाभारत र चाणक्य नीति पढ्या छ, अनि सकुनीको भूमिका खुब मन पर्दो रहेछ उनलाई, सकुनी सबभन्दा राम्रो पात्र उनको लागि, अहिले उनी सकुनीको भूमिकामा छन् हेर्नुहोस् ।’
प्रचण्डले विचारमा एकता भएपछि मात्र पार्टी एकता सम्भव हुने बताए । उनले भने, ‘फेरि केपी ओलीसँग समहति हुन सक्छ सक्दैन भन्ने सन्दर्भमा सहमति कोसँग हुन्छ कोसँग हुँदैन, व्यक्तिगत रुपले को कसलाई मन पर्छ वा मन पर्दैन भन्ने विषय यो होइन । यो विधि, पद्धतिको विषय हो । विचारमा एकता भयो भने एकता हुन्छ, नभए हुँदैन ।’
ओलीले सहमति लागू नगर्ने, राजनीतिक प्रतिवेदनको कुरा लागू नगर्ने गरेको आरोप प्रचण्डले लगाए । उनले अगाडि भने, ‘उहाँ त एक्लै आइ एम द स्टेट, श्री ३ महाराजजस्तै ।’
‘हिजोको एमाले कहाँ छ, माओवादी कहाँ छ भन्दा अहिले नेकपामा,’ प्रचण्डले भने, ‘यदि हिजोको एमालेलाई ओलीले सोधेको हो भने माधवकुमार नेपाल यहीँ हुनुहुन्छ।’
उनले जनताको बहुदलीय जनवाद छोड्ने तत्कालीन एमालेबाट पहिलो नेता केपी भएको दाबी समेत गरे । ‘आजभोेलि केपी ओलीले ‘जबज हामी, एमाले हामी अर्को त माओवादी हो’ भनेर जो भ्रम दिन खोजिरहेका छन् योभन्दा ठूलो झुट, योभन्दा ठूलो बेइमानी, योभन्दा ठूलो अनैतिकता केही पनि हुन सक्दैन,’ प्रचण्डले भने, ‘जनताको बहुदलीय जनवाद ‘ड्रप’ गर्ने पहिलो एमालेको कोही नेता छ भने त्यो खड्ग प्रसाद ओली अर्थात केपी ओली नै हो । त्यसको प्रमाण छ, राजनीतिक प्रतिवेदन, सबै जनसमितिका दस्तावेजमा केपी ओली र प्रचण्डका जेठ ३ गते भएका हस्ताक्षर छन् । यो चाहिँ सत्य हो ।’
प्रचण्डले संसद् पुनर्स्थापनाको पहिलो ‘ब्याटल’ जितेको भन्दै अझै युद्ध बाँकी नै रहेको बताए । अनेक खालका षड्यन्त्रहरू भइरहेको उनको भनाइ छ ।