काठमाडौं । कांग्रेस नेता नविन्द्रराज जोशीको अवस्था गम्भीर तर थोरै भए पनि सुधारोन्मुख देखिएको छ । अवस्था सुधारोन्मुख भए पनि उनलाई खतरामुक्त भन्न नसकिने नर्भिक अस्पतालले जनाएको छ ।
उपचारका संलग्न नर्भिक अस्पतालका डा. राजीव झाका अनुसार जोशीले दाहिने हात र खुट्टा चलाएका छन् ।
जोशीलाई शनिबार बिहानसम्म लगातार बेहोस् पार्ने औषधी राखेर उपचार जारी राखिएको थियो । बिहान डेढ घन्टाजति बेहोस् पार्ने औषधी नलगाई हेर्दा उनले हात र खुट्टा चलाएको झाले बताए ।
डा. झाले भने, ‘शनिबार बिहानदेखि दायाँपट्टिको शरीरको भाग हातखुट्टाहरु चल्न थालेका छन् । देब्रेपट्टि प्यारालाइसिस भएकै देखिन्छ । बाँकी प्यारामिटरहरु ठीकै ठीकै छ । उहाँ कोमामै हुनुहुन्छ । अवस्था अलि गम्भीर नै छ । हिजोभन्दा केही सुधार भएको देखिन्छ तर खतरामुक्त भने हुनुहुन्न ।’
जोशीको उपचार सघन उपचार केन्द्रमा भइरहेको छ । ५८ वर्षीय जोशीलाई शुक्रबार बिहान मस्तिष्कघात भएको थियो ।