काठमाडौंः बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका दिनेश भट्टको डिएनए परीक्षणका लागि पठाइएको छ ।
डिएनए परीक्षणका लागि रगतलगायत आवश्यक पर्ने अन्य वस्तु राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको हो । डिएनए परीक्षणबाट अनुसन्धानमा आवश्यक परेका थप कुराको पुष्टि हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । परीक्षण रिपोर्ट केही दिनमै आउने भएको छ ।
यसअघि भागरथीको भजाइनल स्वाब पनि प्रयोगशाला पठाइएको भए पनि परीक्षण रिपोर्ट भने आएको छैन । गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन् ।
त्यसपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गत फागुन ५ गते प्रहरीले दिनेशलाई सार्वजनिक गरेको थियो ।