राजनीतिक निकास दिन बारको आग्रह

काठमाडौंः नेपाल बार एशोसिएशनले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सर्वोच्च अदाललते गरिसकेको हुनाले राजनीतिक दलले संवैधानिक नैतिकता देखाएर मुलुकलाई राजनीतिक निकास र स्थिरतता प्रदान गर्न आग्रह गरेको छ ।

बार एशोसिएशनको वार्षिक साधारणसभा तथा ४७ औँ केन्द्रीय कार्यकारिणी परिषद्को यही फागुन १४ र १५ गते सम्पन्न भएको बैठकले जारी गरेको नौ बुँदे घोषणापत्रमा मुलुकलाई राजनीतिक निकास दिन आग्रह गरिएको हो ।

नेपालको संविधानको धारा १ सय १४ ले सङ्घीय संसदको दुबै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही सुधार गर्न आवश्यक परेमा मात्र अध्यादेश जारी गर्न सकिने व्यवस्था गरेको उल्लेख गर्दै जुनसुकै समय र अवस्थामा त्यसको प्रयोग नगर्न घोषणापत्रमा भनिएको छ ।

घोषणापत्रमा संसदीय सुनुवाइबिना नै संवैधानिक निकायका पदाधिकारी नियुक्त गरिनु संविधानको मर्म र भावना विपरीत भएको जनाएको छ ।

नेपालको संविधानको धारा २९२ मा संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने संवैधानिक निकायका पदाधिकारीको नियुक्ति हुनुपूर्व संसदीय सुनुवाइ हुनु पर्ने व्यवस्था गरेको र संसदीय सुनुवाइबिनै गरिएको नियुक्ति संविधानको भावना र मर्मत विपरीत भएको घोषणापत्रमा भनिएको छ ।

गत मङ्सिर ३० गते संवैधानिक परिषद्ले संवैधानिक आयोगका पदाधिकारी नियुक्ति सिफारिस गरेको थियो । संसद् विघटनको समयमा ४५ दिनसम्म संसदीय सुनुवाइ हुन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सिफारिस आयोगका पदाधिकारीलार्ई नियुक्त गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्