क्रियाशील सदस्यताको काम रोकिएपछि छानबीन समितिले सातवटै प्रदेशमा प्रतिनिधि पठाउने

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरणमा देखिएको विवाद निरुपण गर्न तीब्रता देखाएको छ ।

कतिपय जिल्लामा विवादका कारण सदस्यता नवीकरण र वितरण हुन सकेको छैन ।
यही कामलाई अघि बढाउन यसअघि केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा सदस्यता छानबिन समिति बनेको थियो ।

समितिको मंगलबार बसेको बैठकले सदस्यतासम्बन्धी देखिएका विवाद हल गर्न सातवटै प्रदेशमा प्रतिनिधि खटाउने निर्णय गरेको छ।

नागरिक दैनिकमा प्रकाशित समाचारमा उल्लेख भए अनुसार, क्रियाशील सदस्यता वितरणमा सहजीकरण गर्न छानबिन समितिले सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने तयारी गरेको थियो। तर नेता रामचन्द्र पौडेल पक्षले सबै जिल्लामा दुई÷दुईजना नेता पठाउनुपर्ने पक्षमा उभिएपछि समितिले पहिलो चरणमा आफ्नै सदस्यहरूलाई खटाएको हो।

याे पनि पढ्नुस  भ्रष्टाचारी खोज्न कहीँ जानु पर्दैन, बालुवाटार गए पुग्छः गगन थापा

मंगलबार समितिले यी सबै विषयमा गहन छलफल गर्दै सबै प्रदेशमा समितिका प्रतिनिधि खटाउने निर्णय गरेको हो ।

यो निर्णय अनुसार, संयोजक लेखक सुदूरपश्चिम प्रदेश, कल्याण गुरुङ र योगेन्द्र चौधरी कर्णालीसँगै प्रदेश नम्बर पाँच, श्यामकुमार घिमिरे र प्रदीप पौडेल प्रदेश चार र वाग्मती प्रदेश, आनन्दप्रसाद ढुंगाना र जीवन परियार प्रदेश नम्बर एक र दुईमा जाने भएका छन्।

उनीहरुले मुख्यतः सदस्यता नवीकरण र नयाँ वितरणका लागि सहजीकरण गर्नेछन् ।

कांग्रेस महाधिवेशनको पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यता नवीकरण र वितरणको काम पटकपटक म्याद थप गर्दासमेत अहिलेसम्म प्रभावकारी बन्न सकेको छैन। सदस्यता वितरण र नवीकरण सुरु भएको एक वर्ष बढी भए पनि मंगलबारसम्म ४८ जिल्लामा मात्र सदस्यता नवीकरण र नयाँ वितरणको काम सुरु भएको छ। २९ जिल्लामा अझै सदस्यता वितरण सुरु भएको छैन। प्रदेश नम्बर दुईमा रौतहटबाहेक अन्य जिल्लामा वितरणको काम सुरु भएको छैन भने सप्तरी, सिन्धुपाल्चोक, डोल्पासहितका जिल्लामा संगठन समायोजनको काम नै सकिएको छैन। बारामा केही दिनअघि मात्र निर्वाचन समितिको टोलीले विवाद समाधान गरेको छ।

याे पनि पढ्नुस  गगन थापाले देउवालाई भने– संवैधानिक परिषदको बैठकमा नजानोस्

सदस्यता नवीकरण र नयाँ वितरणका लागि सफ्टवेयरको विकास गरेर जिल्ला र निर्वाचन क्षेत्रबाट नै सदस्यता अपडेट गर्ने व्यवस्था मिलाए पनि अहिलेसम्म नयाँ सदस्यता ९० हजार र नवीकरण १ लाख २० हजार मात्र भएको छ। कांग्रेसमा अहिले झण्डै पाँच लाख क्रियाशील सदस्य छन् भने त्यति नै संख्यामा नयाँ सदस्यता वितरण गर्ने निर्णय भएको छ। एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा नयाँ सदस्यता वितरणको अपडेट प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट र नवीकरणको काम जिल्लाबाट तथा एउटा मात्र क्षेत्र भएका जिल्लाको हकमा दुवै काम जिल्लाबाटै भइरहेको छ। कुनै जिल्ला र क्षेत्रबाट कति नयाँ सदस्यता वितरण र नवीकरण भयो भनेर केन्द्रीय कार्यालयबाटै देशभरिको सूचना लिन सकिने छ। क्षेत्रले जिल्ला र जिल्लाले केन्द्रलाई बुझाएपछि तल्लो निकायले संशोधन वा हेरफेर गर्न नसकिने केन्द्रीय कार्यालय स्रोतले जनाएको छ। अहिले देशका दुई सय बढी ठाउँबाट सदस्यता नवीकरण र वितरणको काम हुँदै आएको छ।

याे पनि पढ्नुस  ‘डा.केसीसँग भएको सहमति उल्लङ्घन नहोस्’

कमेन्ट गर्नुहोस्