काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सकिएको छ ।
पेरिसडाडाँमा बसेको बैठकले संसदीय दलको नेता पर्वतर्तन गर्ने एजेन्डा तय गरेको छ । यो एजेन्डा भर्खरै शुरू उक्त समूहको केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नेछ । केन्द्रीय कमिटी बैठक पनि पेरिसडाडाँमै शुरू भएको छ ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गर्ने निर्णय गरेको थियो । तर, पुस ५ यता भएका पार्टीका निर्णयहरूलाई निर्वाचन आयोगले मान्यता नदिएपछि प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेताबाट ओलीलाई हटाउने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लग्ने निर्णय गरेको हो ।
संसद् पुस्र्थापनापछि पहिलो पटक उक्त समूहले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएको हो । केन्द्रीय सदस्यहरुलाई पार्टी परिचयपत्र र नागरिकतासहित बैठकमा आउन निर्देशन दिइएको छ ।
बैठकमा पार्टीको आधिकारिकता विवादका विषयमा निर्वाचन आयोगले गरेको ढिलासुस्तीका विषयमा पनि छलफल हुने बताइएको छ । निर्वाचन आयोगले प्रचण्ड–नेपाल समूहले आधिकारिकता दाबी गरेको एक महिना पुग्न लाग्दासमेत प्रक्रिया अघि बढाएको छैन ।