पृतनापति समन्वयात्मक बैठक सुरू

काठमाडौंः जंगी अड्डामा पृतनापति समन्वयात्मक बैठक-२०७७’ सुरु भएको छ।

तीन दिने सो बैठक अन्तर्गत आज प्रधानमन्त्री एवं रक्षामन्त्री केपी ओलीको प्रमुख आतिथ्यमा शुरू भएको हो । शुभारम्भ मन्तब्यको क्रममा ओलीले नेपाली सेनाको व्यवसायिकता, लगनशिलता र कर्तव्यबोधको भावनाको उच्च प्रशंसा गर्दै ६-६ महिनामा आयोजना हुने रणनीतिक तहको यस बैठकले विगतको गहन समीक्षा सहित नेपाली सेनाको भावि कार्यदिशा र कार्य योजनाको लागि ठोस आधार निर्माण गर्न सफल हुने विश्वास व्यक्त गरे ।

सम्बोधनकै क्रममा उनले यस प्रकारको बैठकमा हुने छलफल तथा त्यसका निष्कर्ष विशेषत नेपाली सेनाका फिल्डमा तैनाथ पृतना, बाहिनी, गण तथा गुल्महरुका लागि मार्गदर्शन हुने कुरामा आफू पूर्ण रुपले विश्‍वस्त रहेको समेत बताए । यसैगरी प्रधानसेनापति पुर्णचन्द्र थापाले नेपाली सेनालाई पद्धति र प्रणालीमा आधारित सबल, सक्षम र सुदृढ सङ्गठनको रुपमा विकास गर्ने लक्ष्य प्राप्तिको लागि परिवर्तनलाई संस्थीकरण गर्दै कार्यसंस्कृतिका रुपमा स्थापित गर्दै लानु पर्ने आवश्यकता रहेको र यो समन्वयात्मक वैठकले विषयगत तथा क्षेत्रगत रुपमा हाल भईरहेका कार्यहरुको बारेमा समीक्षा गर्नुका साथै आवश्यक सुधार, सुदृढीकरण र दीगोपनाका लागि आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास व्यक्त गरे।

कार्यक्रमको शुभारम्भमा बलाधिकृत रथी प्रभुराम शर्माले स्वागत मन्तव्य राख्दै राष्ट्रिय सुरक्षा नीति तथा प्रतिरक्षा नीतिको सफल कार्यान्वयनको लागि दक्ष, ब्यवसायीक र उच्च मनोबल भएको जनशक्तिको विकासमा नेपाल सरकारबाट प्राप्त निरन्तर सहयोगको लागि हार्दिक कृतज्ञता व्यक्त गरे ।

समन्वयात्मक बैठकमा नेपाली सेनाका महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुखहरु तथा पृतनापतिहरुले आ-आफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समिक्षा एवं सुझावहरु सहितको प्रस्तुतिकरण गर्ने कार्यक्रम रहेको छ । बैठक फागुन २१ गतेसम्म चल्नेछ।

कमेन्ट गर्नुहोस्